धरान-१२ स्थित पब्लिक हाईस्कुलले कक्षा ११ मा भर्ना हुनका लागि लिएको प्रवेश परीक्षामा ४ सय ४४ जना उत्तीर्ण भएका छन् ।

शनिबार ५ सय १७ जनाले प्रवेश परीक्षा दिएका छन् । त्यसमध्ये  लिखित तथा अन्तरवार्ता समेत गरी लिएको परीक्षामा जम्मा ४ सय ४४ जना उत्तीर्ण भएका छन् । जसमध्ये विज्ञान तर्फ १४३, शिक्षा तर्फ ३७, मानविकी तर्फ १२ र व्यवस्थापन तर्फ २५२ जना उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक डा. इन्द्र मोहन झाले बताए । 

हालै सार्वजनिक एसईईको नतीजामा सामुदायिक विद्यालय तर्फ सुनसरी जिल्ला प्रथम भएको विद्यालयमा कक्षा ११ अध्ययनका लागि विद्यार्थीको भीड लागेको छ ।

एसईईमा १ सय ९२ जना सहभागी भएका मध्ये १ सय ५७ जना उत्तीर्ण भएका थिए । विद्यालयले ३.६ जिपिए भन्दा माथि ल्याउने विद्यार्थीलाई कुनै पनि विषय पढ्न सत प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको झाले घोषणा गरेका छन् ।

विद्यालयमा कक्षा ११ मा साईन्स, कम्प्यूटर साइन्स, मेनेजमेन्ट, कम्प्यूटर मेनेजमेन्ट, होटल मेनेजमेन्ट, एजुकेशन, व्यूटिसियन एण्ड हेयर ड्रेसिङ्ग र मानविकी विषयको पठनपाठन हुने गरेको छ ।