धरान । धरानको पिण्डेश्वर विद्यापीठमा कोशी प्रदेशस्तरीय संस्कृत वक्तृत्वकला प्रतियोगितामा पिण्डेश्वरका छात्र नवीन खनाल र चन्द्र संस्कृत मा.वि.का छात्र विशाल सुवेदी प्रथम भएका छन् ।
जयतु संस्कृतम्को ७८ औँ स्थापना दिवसको अवसरमा कोशी प्रदेश समितिले आयोजना गरेको प्रतियोगितामा विजेताले जनही नगद १५ सय रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा नयाँ वृन्दावन गुरुकुल मोरङका छात्र सरोज खनाल दोस्रो, अर्जुनधारा आवासीय मा.वि.का छात्र छत्रपति गुरागाइँ तेस्रो र राधाकृष्ण संस्कृत वेद विद्याश्रम चतराका छात्र रमित ढुङ्गेल सान्तवना भए । उनीहरूले क्रमशः एक हजार, ६ सय र पाँच सय रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरे ।
विद्यार्थीहरूले ‘संस्कृतं संस्कृतेर्मूलम्’, ‘वर्तमानसन्दर्भे संस्कृतशिक्षाया आवश्यकता’ र ‘वैश्विकमञ्चे संस्कृतशिक्षायाः प्रतिष्ठा’ शीर्षकमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरेका १३ जना स्पर्धीहरूले वक्तृत्वकला प्रस्तुत गरेका थिए । प्रतियोगिताको निर्णायकमा सहप्रा.डा. गुरुप्रसाद कोइराला र उपप्रा. सुमन खतिवडा रहेका थिए ।
जयतु संस्कृतम् केन्द्रीय समिति काठमाडौँको सहयोगमा सम्पन्न प्रतियोगितामा विजेताहरूलाई नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष संस्कृत वाङ्मयका विद्वान् पं. पुरुषोत्तम भट्टराई, आयोजक संस्थाका प्रदेश समिति अध्यक्ष प्रा.डा. चन्द्रमणि नेपाललगायतले पुरस्कार वितरण गरेको कार्यक्रम सञ्चालक सहप्रा.डा. महानन्द तिमिल्सिनाले जानकारी दिए ।
































