मोरङ । विराटनगर महानगरपालिकाले कोकनसँगको सहकार्यमा आयोजना गरेको लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सम्पन्न भएको छ । 

गत वैशाख २५ गतेबाट सुरु भएको परिवार संवाद असार ३ गते सम्पन्न भएको हो । करिब डेढ महिना सञ्चालन भएको कार्यक्रममा ३५ जोडी सहभागी भएका थिए । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा परिवार संवाद कार्यक्रमको समापन गरिएको हो । विराटनगर वडा नम्बर ८ सुकुम्बासी बस्ती र बलुवाहीमा सञ्चालित परिवार संवादमा सहभागी गरिब तथा विपन्न र दलित समुदायका जोडीहरुलाई कोकनका सहजकर्ता उदीप मण्डल र ईश्वरी खड्काले प्रशिक्षण दिएका थिए । 

सामान्य विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले साझा सवालका लागि साझा मञ्च (कोकन)सँगको सहकार्यमा परिवार संवाद सञ्चालन गरेको थियो । यसरी परिवार संवाद आयोजना गर्दा श्रीमान–श्रीमतीबीचको सम्बन्ध सुमधुर भई परिवारमा शान्ति छाउने आयोजकले विश्वास लिएको छ । 

पछिल्लो समय सामान्य विषयलाई लिएर पनि सम्बन्धविच्छेदका घटना बढ्दै जानुका साथै परिवारमा हिंसासमेत हुने गरेको पाइएको छ । यस्ता कार्यक्रमले लैंगिक हिंसा न्यूनीकरण हुनुका साथै परिवारमा हुने बेमेलसमेत कम हुने मेयर कोइरालाको भनाइ छ । आगामी दिनमा पनि परिवार संवादलाई अझै व्यापक बनाउने लगिने उनले बताए । श्रीमान् र श्रीमतीलाई बेग्लाबेग्लै राखेर सम्झाउनुका साथै दुवैजनाको दायित्वका विषयमा समेत जानकारी गराउने गरेको कोकनकी अध्यक्ष मञ्जिता उपाध्यायले जानकारी दिइन् । 

कार्यक्रम सञ्चालनपछि परिवारमा सुमधुर सम्बन्ध भई सम्बन्धविच्छेदमा कमी आउने, एकअर्काको भावना बुझ्ने, मदिरा सेवन गर्ने क्रममा कमी आउने, दुव्र्यसनीमा नफस्ने, आर्थिक बोझ कम हुने र लैंगिक विभेद न्यूनीकरण हुने उनको भनाइ थियो । आर्थिक अभाव, वैदेशिक रोजगारी, मदिरा सेवनलगायतका कारणले परिवारमा समस्या देखिने गरेको महानगरकी महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु लोहनीले बताइन् । 

विराटनगर वडा नम्बर ८ मा ३५ जोडीलाई बेग्लाबेग्लै राखेर १० पटक कार्यक्रम सञ्चालन गरिएको कोकन मोरङका फिल्ड सुपरभाइजर अशोक थापा मगरले जानकारी दिए । त्यसपछि ३५ जोडीमध्येबाटै श्रीमान्–श्रीमती दुवैजनासहित परिवारका अन्य दुई सदस्यलाई राखेर दुई चरणमा परिवार संवाद कार्यक्रम आयोजना गरिएको उनले बताए ।