धरान उपमहानगरपालिकाले सात वर्षमा बल्ल–बल्ल स्थानीय पाठ्यक्रम तयार गरेको छ । पाठ्यक्रमअनुसार तयार पारिएको कक्षा–६ को पुस्तकमा धरानकै इतिहास गलत लेखिएको भन्दै विवाद उत्पन्न भएको छ । ‘हाम्रो धरान’ नामको पाठ्यपुस्तकको विजयपुरको इतिहास शीर्षकको पाठमा ‘पाल्पाका सेनवंशी राजा विजयनारायणले राज्य विस्तारको क्रममा विजयपुरगढीको स्थापना गरेको’ उल्लेख गरिएपछि लिम्बु विद्यार्थी मञ्चले उपमहानगरपालिकामा पुस्तक सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । लामो समय लगाएर, धरानका विभिन्न विद्यालयका प्रधानाध्यापक र शैक्षिक क्षेत्रका विज्ञ भनिएका व्यक्ति बसेर तयार पारिएको पुस्तकमा कसरी यस्तो त्रुटि भयो ? प्रश्न उठिरहेको छ । यसबाट धरान उपमहानगर र त्यसको शिक्षा समितिले धरानको शिक्षाक्षेत्र कसरी सञ्चालन गरिरहेको छ भन्ने पनि बुझ्न सकिन्छ । पुस्तकमा कसरी इतिहास उल्लेख भयो ? यसको अध्ययन गरेर गलत भएको रहेछ भने सच्याउनु आवश्यक छ ।

देशमा सङ्घीयता लागू भएर तीन तहका सरकार बनेपछि स्थानीय तहको अधिकार क्षेत्रमा माध्यमिक तहसम्मको शिक्षा पनि पर्यो । त्यससँगै स्थानीय तहले आफै पाठ्यक्रम तयार पारेर एउटा छुट्टै पुस्तक प्रकाशित गरी लागू गर्ने अधिकार पनि पायो । तर, स्थानीय तहका शिक्षा महाशाखामा राजनीति हाबी हुँदा यस्ता समस्या देखिने गरेका छन् । स्वतन्त्ररुपमा शैक्षिक क्षेत्रका विज्ञहरुलाई राखेर, राम्रो अध्ययन अनुसन्धान गरेर पुस्तक तयार पार्नु पर्नेमा आफू नजिकका र दलसँग आबद्ध व्यक्तिलाई राखेर शिक्षा समिति बनाउने र त्यही समिति अन्तर्गत अर्को समूह बनाएर पुस्तक तयार गर्दा दक्षताभन्दा निकटता हेरिएको प्रष्ट देखिन्छ । शैक्षिक क्षेत्रमा हुने गरेको अति राजनीतिकरणले निम्त्याउने खराबीको एउटा उदाहरण यो घटना हुन सक्छ । यसबाट स्थानीय तहका नेतृत्वहरुले शिक्षा जस्तो महŒवपूर्ण क्षेत्रमा लापरबाही गर्नु हुन्न रहेछ भन्ने पाठ सिक्नु जरूरी छ ।

धरान उपमहानगरपालिकाद्वारा प्रकाशित पुस्तकमा ठाउँ ठाउँमा इतिहास गलत रुपमा उल्लेख गरिएको आरोप लागेको छ । पुस्तकमाथि प्रश्न उठेपछि जिम्मेवार व्यक्तिहरुले गल्ती अरुतिर औंल्याउने गरेको देखिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखा र शिक्षा समिति पुस्तक तयार पार्न जिम्मा पाएकाहरु यसमा जिम्मेवार हुने भन्दै पन्छिरहेका छन् भने पुस्तक तयार पार्न जिम्मा पाएको समितिका सदस्यहरु आफूहरुले पुस्तक तयार गरेर उपमहानगरपालिकामा बुझाउने र अन्तिम निर्णय गर्ने काम उपमहानगरपालिकाको भएकाले उही जिम्मेवार हुनुपर्ने तर्क गरिरहेका छन् । यसरी एक–अर्कालाई दोष दिएर आफू चोखिन खोज्नु गलत हो । गलत इतिहास लेखिनुमा पुस्तक लेख्नेदेखि जिम्मा दिने शिक्षा समिति, महाशाखा र समग्र उपमहानगरपालिकाका पदाधिकारी जिम्मेवार हुन् । उनीहरु सबैले जिम्मेवारी लिएर पुस्तकमा भएका गलत कुराहरु सच्याउनु आवश्यक छ । किनभने इतिहासमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन । गलत इतिहास लेखेर पुस्तक प्रकाशन गर्दा भएको खर्च गलत गर्नेहरुबाट असुल हुन आवश्यक छ । साथै अहिले कक्षा ६ को मात्र पुस्तक तयार भएको छ, अन्य कक्षाका पुस्तकहरु चाँडो तयार गर्नु पर्छ । ती पुस्तकमा फेरि यस्तै गल्ती नदोहोरियोस् भनेर बेलैमा सचेत हुनु जरूरी छ ।