विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा विराटनगर–६ घर भएकी ७२ वर्षीया समसा बेगमको मृत्यु भएको घटनामा दुई जना चिकित्सकमाथि भएको कारबाही अस्पताल प्रशासनले तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतवनी दिएका छन् ।

अस्पताल विकास समिति कर्मचारी युनियन एकाइ कोशी र नेपाल चिकित्सक सङ्घ कोशीले शुक्रबार छुटाछुट्टै  विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

अस्पताल विकास समितिका सदस्य हरि भट्टराईको संयोजनमा गठन भएको ७ सदस्यीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार आकस्मिक कक्ष र आईसीयूका स्वास्थ्यकर्मीको समन्वय र लापरबाहीले गर्दा बेगमको मृत्यु भएको प्रतिवेदन अस्पताल प्रशासनलाई बुझाएको थियो । उक्त प्रतिवेदनको आधारमा आकस्मिक कक्षका मेडिकल अफिसर डा. तुलसी गोइत र आईसीयूका मेडिकल अफिसर डा. सृजना शर्मालाई कारबाही गरेको थियो । उनीहरूलाई कारबाहीस्वरूप सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको थियो ।

उनीहरू छात्रवृत्ति करारका चिकित्सक हुन् । त्यसैगरी डा. रोहित यादव, कर्मचारीहरू अमत झा, मुकेश यादव र अर्चना राजवंशीलाई स्पष्टीकरण सोध्ने र कर्मचारीहरू रेनुका चौधरी, स्विटी साह, स्मृति घिमिरे र रीता ओझालाई शाखा परिवर्तन गर्ने निर्णय गरेको थियो ।

हचुवाको भरमा स्वास्थ्यकर्मीहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता नलिए स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिने कोशी अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा. रोशन खड्काले बताए ।

‘नियम र कानूनलाई बेवास्ता गरी भएको मोनोपोली ढङ्गको कारबाहीले अस्पतालका मेसुको निरङ्कुश शैली देखिएको छ । ड्युटीमा खटिएका चिकित्सक तथा कर्मचारीहरूलाई एक शब्द पनि नसोधी आफ्नो स्पष्टीकरण दिने अवसर पनि नदिई ठाडै निष्काशनसम्म गर्ने दुस्साहस मेसुलाई कसरी प्राप्त भयो ? यसरी हचुवाको भरमा चिकित्सकलाई कारबाही गरिनु भनेको उनीहरूको मनोबल गिराउने कार्य हो । चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा संलग्न रहँदा कर्मचारीहरूको मनोबल गिराउने तरिकाले भएको यो कारबाहीको प्रक्रिया तत्काल फिर्ता लिनु पर्दछ  । स्वास्थ्यकर्मीहरूलाई सहजरूपमा कामकाज गर्ने वातावरण सिर्जना नहुने हो भने युनियन आन्दोलनमा उत्रिन बाध्य हुनेछ’ –जारी विज्ञप्तिमा उल्लेख छ ।

११ जेठमा उपचारको क्रममा बेगमको मृत्यु भएको थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरूको आवश्यक समन्वय अभाव र तत्काल आईसीयू नपाएको कारण बेगमको मृत्यु भएको थियो ।