विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीहरू ओपिडी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले चिकित्सक कुटनेलाई कारबाही गरिनुपर्ने र शान्ति सुरक्षाको व्यवस्था गरिनुपर्ने माग राख्दै बुधबार अस्पतालको ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

आकस्मिक कक्षको सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू ठप्प पारेर चिकित्सक र स्वास्थ्यकर्मीहरू दिनभरि आन्दोलनमा उत्रिए । उनीहरूले चिकित्सक कुट्न पाइँदैन, कुटपिट गर्नेलाई कारबाही गरिनुपर्ने र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी राज्यले गरिनुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सकको आन्दोलनका कारण ओपिडीमा आएका बिरामीहरू स्वास्थ्यकर्मीलाई चेकजाँग नगराई फर्किएका थिए । अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र डा. अनिलकुमार यादवलाई स्थानीय युवाहरूले कुटपिट गरेका थिए । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मङ्गलबारेका सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरूले डा. बुढाथोकीमाथि पुरानो रिसइबीलाई लिएर आक्रमण गरेका हुन् ।

त्यसैगरी ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख इन्स्पेक्टर देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए । जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरू फरार रहेकाले खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

अस्पतालको ओपिडीमा दैनिक ५ देखि ७ सय जना बिरामीले सेवा लिने गरेका छन् । अस्पतालमा १ सय ३० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । यता अस्पतालका मेसु रविकुमार साहले चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि ओपिडी सेवा बन्द भएको बताए । ‘ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा भने सुचारु रहेको छ’ उनले भने, ‘चिकित्सक नआएपछि सेवा बन्द भएको हो ।’ छलफलको माध्यमबाट सेवा सुचारु गर्न लागिपरेको उनले बताए ।

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग
दुई जना चिकित्सकलाई कुटपिट गर्नेलाई कारबाहीको माग राखेको छ । नेपाल चिकित्सक सङ्घ कोशीले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो ।

चिकित्सकलाई कुटपिट गर्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएको तीन दिन भइसक्दा पनि घटनामा संलग्न पक्राउ नपर्नुले गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिव डा. राजेन्द्र चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सक कुटपिट गर्नेलाई तत्काल पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन उनीहरूले जोडदार माग गरेका छन् ।