धरान ।  इलामका ८१ वर्षीय लालबहादुर विश्वकर्मा विगत आठ वर्षदेखि मुटु रोगबाट ग्रसित थिए । धेरै स्थानमा उपचार गराए । सोचेजस्तो सुधार भएको थिएन । यसै मेसोमा परिवर्तनका लागि सामाजिक अभियानले गर्ने ‘सामाजिक स्वास्थ्य क्लिनिक’ मा आइपुगे । उनी भन्छन्, ‘डा. प्रशान्त साहलाई देखाउन थालेपछि निक्कै सहज भएको छ ।’

दुई वर्षदेखि निरन्तर शिविरमा आइरहेका उनी हर्षित देखिएका छन् । ‘सजिलै डाक्टरलाई देखाउन पाउँदा खुसी लागेको छ । दबाइ पनि पाइन्छ । साह्रै खुसी लागेको छ’–विश्वकर्माले भने । उनी मात्रै हैन, यो शिविरबाट अधिकांश वृद्धवृद्धाहरू खुसी देखिएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डाँगा नियमित जाँच गराउनेमध्येमा पर्छन् । ‘अभियानको यो शिविरले मलाई साह्रै सजिलो भएको छ । सजिलोसँग डाक्टरलाई देखाउन पाएको छु’–उनले भने । अभियानले विगत तीन वर्षदेखि निःशुल्करूपमा सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गर्दै आएको छ । जहाँ ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई पाक्षिकरूपमा सेवा दिँदै आएको अध्यक्ष विष्णु बराल बताउँछन् ।

‘बीपी प्रतिष्ठान जाँदा ज्येष्ठ नागरिकको समस्यालाई नजिकबाट नियाल्ने मौका पाएको थिएँ’ अध्यक्ष बराल भन्छन्, ‘त्यो बिजोक देखेर नै हामीले संस्था गठन गरी वृद्धवृद्धालाई सेवा दिन थालेका हौँ । तीन वर्षमा रन भइरहेको छ ।’ उनका अनुसार अभियानले हालसम्म करिब ६ हजारभन्दा बढीलाई सेवा दिइसकेको छ । शिविरलाई सुरुदेखि नै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले साथ दिइरहेका छन् ।

क्लिनिक विभिन्न संस्थाको सहकार्य र एकलरूपमा गर्दै आएको छ । क्लिनिकका संयोजक शुशीर बरालका अनुसार यस पटक धरान उच्च मा.वि.को सहकार्यमा क्लिनिक सञ्चालन गरिएको थियो । जहाँ ८८ जनाभन्दा बढीलाई सेवा दिइएको छ । अभियानले धरानसहित झापासम्मका वृद्धहरूलाई सेवा दिइसकेको छ । शिविरमा मुटुरोगसँगै उच्च रक्तचाप र मधुमेह (सुगर)को पनि जाँच गरिँदै आएको छ । मुटुरोगको सम्बन्ध यी दुई रोगसँग रहेका कारणले पनि जाँच गरिँदै आएको अध्यक्ष बरालले जानकारी दिए । त्यस्तै निःशुल्क औषधि पनि वितरण गरिँदै आएको छ । जसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरू निशा श्रेष्ठ, उषा चौधरी, रमला गुरागाईं, रेनुका चौधरी, निर्मला बास्तोला, एलिना केसी, स्वेता भण्डारी, धरान–१२ मा कार्यरत नर्स चेतना परियारले साथ दिँदै आएका छन् ।

डा. साहले वृद्धवृद्धा बिरामीहरूको सेवा गर्न पाउँदा खुसी लाग्ने गरेको बताए । ‘वृद्धवृद्धाका लागि समय निकालेर समाजसेवा गर्न पाउँदा मन आनन्दित हुन्छ । म यसलाई पेसा नभएर आनन्दको रूपमा लिन्छु’–उनले भने । सहकार्य गरेको धरान उच्चका पूर्व प्राचार्य राजविमल श्रेष्ठले अभियानसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘यो शिविरले निरन्तरता पाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु’–श्रेष्ठले भने । शिविरमा वर्षा श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य र शिशिर बरालले साथ दिँदै आएका छन् ।