विजयपुर । धरान–१४ दुईधारेस्थित नरसिंह भगवान् मन्दिरको जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल भएको कुरा थप पुष्टि भएको छ ।

जग्गाको निस्सामा देखिएका लालबहादुर थापा मगरले नै २०१२ सालदेखि नै मन्दिरलाई पोत तिरेको बताएका छन् । मङ्गलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यो जग्गा मन्दिरकै भएकाले आफ्नो नाममा आए पनि मन्दिरलाई नै दिनुपर्ने बताएका छन् । मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएको हाल धरान–६ पानबारीमा ७ कठ्ठा १० धुर जग्गा छ ।

जग्गाको फिल्डबुकमा जग्गा धनी देखिएका लालबहादुर थापा मगरले जग्गा मन्दिरकै भएको बताएका छन् । उनका अनुसार २०१२ सालदेखि २०२० सालसम्म सो जग्गा आफ्नो दाजु यमबहादुर थापा मगरले कमाउने गरेको र जग्गाको कुत मन्दिरलाई तिर्ने गरेको बताए । दाजुले जग्गा कमाउन नसकेपश्चात् २०२० सालदेखि आफूले कमाउन थालेको लालबहादुरले बताए । उनले भने, ‘दाजुकै पालादेखि मन्दिरलाई भनेर धान दिन्थ्यौँ । एक मुरी पठाउँथिउँ । लालबहादुरले ०३५ सालसम्म जग्गा कमाए । त्यसपश्चात् आफूले पनि कमाउन सक्न छाडेपश्चात् फुपाजुलाई कमाउन दिएको उनले बताए । फुपाजुको नाम पनि लालबहादुर मगर नै हो । उनीहरूले मन्दिरका पुजारी तिरुदासलाई कुत बुझाउने गरेका थिए ।  उनले भने, ‘फुपाजुले धान खान्थे । पैसा मन्दिरलाई दिन्थे । २०२७ सालमा नापी गर्दा मन्दिरको जग्गा आफ्नो नाममा आएको बताउँदै लालबहादुरका फुपाजुले भने, ‘मिस्टेकले मेरो नाममा नापी भएछ ।’

उनलाई आफ्नो नाममा जग्गा दर्ता भएको पनि थाहा थिएन । भूमाफियाहरूले नै जग्गा देखेपछि आफूलाई खोज्दै आएपश्चात् मात्र आफूले थाहा पाएको उनले बताए । ‘मलाई थाहा थिएन । चासो पनि थिएन । दलालहरू मलाई खोज्दै आयो’  लालबहादुरले भने, ‘दलालहरूले भनेपछि मात्र थाहा भयो मलाई ।’ उनले भूमाफियाहरूलाई उद्धृत गर्दै भने, ‘तेरो नाममा जग्गा आउँछ भन्छ । ललाई फकाई गर्छ । धनीपुर्जा निस्कन्छ मात्र भन्छ । अरू केही भनेको छैन ।’ उनले इटहरीबाट दुई जना मानिस आएर आफूलाई तिम्रो नाममा धनीपुर्जा ल्याउनुपर्छ भनेको बताए । ‘दलाल र’छ नि दुई जना इटहरीको । ती दलालले यस्तो यस्तो छ, तेरो नाममा पुर्जा निस्कन्छ । निकाल्नुपर्छ भनेर मेरो घरमा आए, तल पानबारीमा पनि आए ।’ दुई–तीन पटक ओहोर–दोहोर गरेर मलाई ललाईफकाई गरेर धनीपुर्जा ल्याउनुपर्छ भने,' लालबहादुरले भने, ‘मन्दिरको जग्गा हो, मेरो नाममा आए पनि मन्दिरलाई दिनुपर्छ । मन्दिरलाई दिनै पर्ला ।’

उनले जग्गा मेरो नाममा आओस् भन्ने पनि नसोचेको बताउँदै भने, ‘मुद्दासुद्दा गर्दिनँ । अदालतमै गए पनि मेरो कुरा यही हो ।’ पहिले धरान–४ को वडा कार्यालयमा सर्जमिन गरे पनि त्यो काम नलागेपछि पुनः धरान–६ को वडा कार्यालयले सर्जमिन गरेको उनले बताए । उनले भने, ‘मेरै घरमा सर्जिमिन ग¥यो ।’ उनले ती मानिस आफूले चिने पनि नाम बिर्सिएको बताए । जग्गा खनजोतको प्रमाण ‘जोताहा पुर्जा’ पनि आफूसँग भए पनि हराएको बताउँदै लालबहादुरले भने, ‘२०४५ सालको भूकम्पमा घर भत्किँदा हरायो ।’ नरसिंह मन्दिरको जग्गा आचार्य परिवारले नै दान गरेको पुष्टि गर्दै उनले भने, ‘बाहुनले मन्दिरलाई दान देको भनेको सुनेको हो ।’

गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेको थियो । सूचनाका आधारमा तीन जनाले दाबी गरेका छन् । मन्दिर व्यवस्थापन समिति र धरान–८ की लक्ष्मीदेवी मगर्नीले समेत उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी छन् । उनले २०७५ पुस १३ गते नै धरान–८ को वडा कार्यालयबाट सर्जमिन गर्दै सो जग्गा आफ्नो बाजेको भएको दाबी गरेकी छन् ।

मन्दिरको नाममा कायम गर्न माग
धरानका तीन धार्मिक संस्थाले नरंिसंह मन्दिरको नाममा जग्गा कायम गर्न माग गरेका छन् ।

मङ्गलबार  विजयपुर क्षेत्र धार्मिक क्षेत्र संरक्षण समन्वय समितिका अध्यक्ष जुद्ध लोहनी, सनातन धर्म संरक्षण र जागरण समिति अध्यक्ष डा. चन्द्रमणि नेपाल र विजयपुर आध्यात्मिक मञ्च धरानका महासचिव उद्धव अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै मन्दिरको नाममा जग्गा कायम गर्न माग गरेका हुन् ।

धरान–१४ स्थित दुईधारेदेखि दक्षिणतर्फको नरसिंह मन्दिरको दैनिक पूजा आराधनाका लागि दाताहरुले दान दिई गुठीका रुपमा राखिएको पानवारीको ७ कठ्ठा ११ धुर जग्गामा नक्कली जग्गाधनी खडा गरी व्यक्तिगत सम्पत्तिको रुपमा परिणत गर्न खोजिएको उल्लेख गरिएको छ । ‘मिलेमतोमा वडाबाट सर्जमिन गराई सिफारिससहित मालपोत कार्यालय धरानमा दाबी गरिएको विषयले सनातन धर्मको रक्षार्थ र विजयपुरको धार्मिक क्षेत्र संरक्षणमा लागेका हामी सबै स्तब्ध बनेका छौं’–विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त जग्गा नरसिंह मन्दिरको लागि दाताले दानमा दिएको र त्यसबाट वार्षिकरुपमा कुतसमेत मन्दिरले बुझ्दै आएको छ । भूमाफियाको चङ्गुलमा परेर सरकारी निकायसमेत मन्दिरको जग्गा व्यक्तिका नाममा ल्याउन सहयोगी बनेको उल्लेख गरिएको छ । उक्त कार्य बन्द गरी जग्गा मन्दिरका नाममा ल्याउने वातावरण निर्माण गर्न पनि माग गरेको हो । मागलाई बेवास्ता गरी मन्दिरको जग्गा व्यक्तिको नाममा सार्ने प्रपञ्च गरिए त्यसका विरूद्ध कठोर र निर्मम भएर प्रस्तुत हुने विज्ञप्तिमा भनिएको छ ।

नगर प्रमुखको चासो
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले मन्दिरको जग्गाका विषयमा छलफल गरेका छन् ।

मङ्गलबार छलफलमा लामो समयदेखि कुत मन्दिरलाई तिरेको हुँदा जग्गा मन्दिरकै भएको ठहरिने प्रमुख राईले बताए । नगर प्रमुख राईले धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई तथा मालपोत कार्यालय धरानका प्रमुख राजेशप्रसाद पोखरेलसँग छलफल गरेका हुन् । छलफलमा वडाध्यक्ष भट्टराईले आफूले नीति अनुरुप नै सर्जमिन गरेको दाबी गरे । मालपोत प्रमुख पोखरेलले अनुसन्धान गरिरहेको बताए । छानबिनपश्चात् निष्कर्ष ननिस्किए अदालतमा जाने बताए ।