सार्वजनिक जग्गा जमिनमा भूमाफियाले आँखा गाड्ने र सरकारी संयन्त्रको मिलेमतोमा हडप्ने गरेका घटना देशैभर सार्वजनिक भइरहेका छन् । झापाको गिरिबन्धु टि–स्टेट होस् या काठमाडौंको ललिता निवास जग्गा प्रकरण होस् भूमाफियाको मिलेमतोमा जग्गा हडप्ने खेलका ठूला उदाहरण हुन् । यस्ता जग्गा हडप्ने खेल देशैभर भएका छन् । त्यसमध्ये कति बाहिर आएका छन् त कति अझै गुपचुपमै छन् । धरानमा पनि यस्तै सार्वजनिक प्रयोजनका लागि दानमा दिइएको जग्गा हत्याउने चलखेल भएको सार्वजनिक भएको छ । धरान–१४ दुई धारेको दक्षिणतर्फ रहेको नरसिंह मन्दिरका लागि स्थानीय आचार्य परिवारले दानमा दिएको धरान–६ पानबारीस्थित ७ कठ्ठा १० धुर जग्गा अहिले विवादको विषय बनेको छ । घटनाक्रम हेर्दा यसमा पनि जग्गा हत्याउने चलखेलको आशङ्का गरिएको छ ।

धरानस्थित मालपोत कार्यालयले उक्त जग्गामा लालबहादुर थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सूचना प्रकाशन गरेपछि जग्गा दान दिने आचार्य परिवार नै चकित परेका छन् । उनीहरुले सञ्चार माध्यममा आफ्ना बाबु बाजेले दान दिएको जग्गा केही व्यक्ति मिलेर खान खोजेको आरोप लगाएका छन् । यो प्रकरणमा धरान–६ वडा कार्यालय पनि सिफारिस दिएका कारण विवादमा मुछिएको छ । नापी कार्यालयको फिल्डबुकमा जग्गाधनी कैफियतको महलमा जग्गाधनी ‘लालबहादुर’ मात्रै लेखिएको छ । धरान वडा नं. ६ ले ‘लालबहादुर थापा मगर’ र ‘लालबहादुर’ एकै व्यक्ति भएको भनी प्रमाणित गरिदिएपछि विवादमा परेको छ । त्यसअघि नै धरान–८ की लक्ष्मीदेवी मगर्नीले समेत उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी थिइन् । धरान–८ वडा कार्यालयले पनि २०७५ पुष १३ गते नै सर्जमिन गरिदिएको थियो । उता जग्गामा मोही भनिएका भक्तबहादुरले पनि आफूले २०४८ सालदेखि जग्गा कमाइरहेको दाबी गरेका छन् । यसरी एउटै जग्गा तीनतर्फबाट दाबी गरिनुले पनि गडबडी छ भन्ने प्रष्ट हुन्छ । यो जग्गाका विषयमा गहिरो अनुसन्धान गरेर सत्य–तथ्य पत्ता लगाउन आवश्यक छ ।

सरकारले चाहे ललिता निवासजस्तो ठूला नेता, मन्त्री र व्यापारी मिलेको काण्ड त सार्वजनिक भयो भने यस्ता साना जग्गा प्रकरण पत्ता नलाग्ने कुरा हुँदैन । नरसिंह मन्दिरको जग्गा प्रकरण पनि सरकारी संयन्त्रले गम्भीरतापूर्वक छानबिन गरिनु आवश्यक छ । दाबी गर्ने व्यक्तिहरु, सिफारिस दिने जनप्रतिनिधिहरुदेखि अन्य चलखेल कहाँबाट भएको हो, अनुसन्धानबाट पत्ता लाग्ने विषय हो । यस्तो गम्भीर विषयमा मातपोत कार्यालयले पनि हतारमा निर्णय गर्नु हुँदैन । सार्वजनिक सम्पत्ति हडप्न क–कसको मिलेमतो छ पत्ता लगाएर कानूनी कारबाही अघि बढाउन जरूरी छ । यो घटनाले धरानका अन्य सार्वजनिक जग्गा जमिनको अवस्था पनि के कस्तो छ ? अध्ययन र निगरानी हुनु जरूरी देखिन्छ । त्यसतर्फ स्थानीयवासी र सरोकारवालाहरुले चासो देखाउनु पर्छ ।