धरान / विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार धरानमा नेपाल पत्रकार महासंघ सुनसरीले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । धरान -१२ पब्लिक हाईस्कुलको प्रेवशद्वारबाट सुरु भएको प्रभातफेरी धरानको भानुचौक आई कोणसभामा परिणत भएको थियो । 

कोणसभालाई सम्बोधन गर्दै कोशी प्रदेशका सांसद विजयकुमार राईले प्रेसले समाज र राजनीतिमा हुने गलत कार्यलाई जनतासामु ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताए । उनले हरेक आन्दोलनहरुमा प्रेसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनले पछिल्लो समय सञ्चारकर्मीहरू व्यक्ति र पार्टीको पछाडि लागेको बताउँदै भने, ‘पत्रकारले निष्पक्ष भएर जनतालाई सूचना प्रवाह गर्ने दर्पण हुनुपर्छ जसले ऐना जस्तै गरी गलत कुराहरु झल्काउन सक्नुपर्छ तर अहिले ब्यक्तिगत र पार्टीगत रुपले समाचार सम्प्रेषण हुँदा धरान विकासको कार्यक्रममा पछाडि पर्दै गएको छ ।’ उनले अनलाइन मिडियामाहरुले सत्य, तथ्य ख्याल नगरी समाचारहरु पोस्ट गर्दा प्रेस कमजोर हुँदै गएको बताए ।

उनले धरानको मुख्य समस्याहरुको बारे अब नलुकाई समाचार प्रकासन गर्नुपर्ने बताए ।‘त्यो प्रदेश सदस्य होस् या मेयर उपमेयर या कुनै प्रतिनिधि उनीहरुले गरेको गलत कार्य खोजिगरेर जनता सामु ल्याउनुपर्छ’ उनले भने । 

IMG-20240503-WA0009(1)

धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम वेघाले प्रेसले राम्रो नराम्रो दुबै पक्षको समाचार सम्प्रेषण गर्नुपर्ने बताए। उनले प्रेसले राजनीति, समाजमा हुने गलत बिचार धारालाई मेटाएर लोकतन्त्र ल्याउन भूमिका खेल्नुपर्ने बताए । ‘जनताहरुको आवाज र भावनालाई राज्यसंग जोड्ने काम प्रेसले गरेको हुन्छ’ उनले भने, ‘तर कहिलेकाहीँ गलत र वास्तविक कुराको अवलोकन नगरी  राखिएको कुराले समाजमा नकारात्मक असर पर्छ ।’

उनले राज्यबाट भएका गलत कामलाई प्रेसले सचेतना गराउँदै वास्तविक तथ्य कुराको निरन्तर खोजी गरी जनतासामु पुर्याउने अनुरोध गरे । पुर्व नगरप्रमुख तिलक राईले केही समयदेखि समाचारको माध्यम कमजोर बन्दै गएको बताए । उनले मूलधारका समाचार प्रभाव गर्ने मिडिया र पत्रकारहरुलाई उछिन्दै आएका अनलाइनलहरु ब्यापार जस्तै बन्दा निल्नु न ओकल्नु भएको बताए ।  उनले अनलाइन मिडियाले समाजलाई भ्रम सिर्जना गराउने कार्य गरेकाले अब यस्ता सुचना दिने संस्थाहरुलाई निगरानी गर्ने सकेमात्र प्रेसको सकरात्मक विकास हुने बताए ।  

नेकपा एमाले नगर अध्यक्ष हर्कजङ ऐभेङले धरानमा भएका गलत गतिविधि र धरानको मुल समस्याहरुलाई नियालेर यहाँ भएका कमिकजोरी माथि अब पत्रकारहरुले उजागर गर्दै बाहिर ल्याउनुपर्ने बताए ।

‘धरानमा पानीको हाहाकार भईरहेको वेला सामाजिक सञ्जालमा खानेपानीको पाइप तानेको हेरेर हामी रमाइरहेका छौँ’ उनले भने, ‘यस्ता भ्रमपूर्ण सूचना अहिले आएका युट्युब अनलाइनहरुले यत्रतत्र प्रसारण गर्दा प्रेसमाथिको विश्वानियता समेत कम हुने गरेको छ । अब यस्ता बिषयमा समेत महासंघले निगरानी राख्ने काम गर्नुपर्ने छ ।’

पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले प्रेसलाई राज्य र न्यायालयले समेत बन्चित गर्ने खोजेको बताए।नयाँ आएका राजनीतिक दलका केहि प्रतिनिधिहरुले समेत अपमान गरिरहेको बताए ।

उनले जस्तोसुकै अवस्थामा पनि प्रेसले गलत कार्यमाथि सदैव कलम चलाएर आन्दोलन गर्ने बताए । यसैबीच नेपाल अनलाइन मिडिया एसोसिएसनले पनि छुट्टै प्रभातफेरी आयोजना गरी भानुचौकमा कोणसभा गरेको थियो ।