विजयपुर ।  स्वर्गीय दलबहादुर नयोङ्हाङ र स्वर्गीय दिलकुमारी वनेम नयोङ्हाङको सम्झनामा छोराछोरीहरूले टहरा निर्माण गरेका छन् ।

धरान–१९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा रहेको स्वर्गीय तारा सुब्बा स्मृति पार्कमा टहरा निर्माण गरी हस्तान्तरण गरेका हुन् । तीन लाख लागतमा निर्माण भएको टहरा मङ्गलबार हस्तान्तरण गरिएको छ । धरान–१९ निवासी स्वर्गीय दम्पतीका २ छोरा र ४ छोरीले आफ्ना मातापिताको सम्झनामा टहरा निर्माण गरेका हुन् ।

टहरालाई संरक्षण गर्ने जिम्मा स्वर्गीय तारा सुब्बा स्मृति पार्कले लिएको छ । संरक्षक समितिका प्रतिनिधि झुना राईले पार्क ग्रहण गर्दै पार्कलाई सुन्दर र व्यवस्थित बनाउन सहयोग भएको र पार्कमा आउने पर्यटकलाई आराम गर्न सहज हुने बताइन् ।

जेठा छोरा इकेन्द्र नयोङ्हाङ, बिकेन्द्र, छोरीहरू कविता, अन्जु, दुर्गा, पुनम नयोङ्हाङसहित नयोङ्हाङ परिवारले टहरा हस्तान्तरण गरेका थिए ।