विजयपुर । एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष तथा धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले धरान खेलकुदको सहर भए पनि धरान उपमहानगरले खेलकुद समिति नबनाएको बताए ।

शनिबार साकेला पार्क धरानमा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले भने, ‘धरान खेलकुदको सहर हो, तर यहाँ हालसम्म खेलकुद समिति गठन नभएकोमा खेद व्यक्त गर्छु ।’ उनले सक्षम नेतृत्व र खेलकुदको विकास गर्ने नेतृत्व भए आफूले सम्हालेका संस्थादेखि बिदा लिने बताए । उनले  भने, ‘पद ओगट्ने होइन, गफ गर्ने होइन, काम गर्नुपर्छ ।’ उनले स्थानीय सरकारदेखि सङ्घीय सरकारले खेल क्षेत्रलाई बेवास्ता गर्दा खेलाडी विचरा अवस्थामा रहेको बताए ।

उनले धरान नगर प्रमुख हर्कराज राईलाई सबैको नगर प्रमुख बन्न पनि अनुरोध गरे । उपमहानगरले कुल बजेटको १ प्रतिशत पनि खेल क्षेत्रलाई विनियोजन नगरेको बताए । उनले वडाध्यक्षहरूलाई खेलकुदको विकासका लागि लागिपर्न समेत आग्रह गरे । मेयर ओलम्पिक खेल रोकिएकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘खेलकुदका लागि भिड्नुहोस्, मेयर ओलम्पिक खेल हुनुपर्छ । त्यसको नेतृत्व खेलकुद मञ्चले गर्छ । नगरले आयोजना गरे मञ्चले संयोजन गर्छ ।’

कार्यक्रम पत्रकार निशा राई परस्कृत भएकी छन् । उनलाई धरान खेलकुद मञ्च मिडिया अवार्ड २०८० द्वारा पुरस्कृत गरिएको हो । गोरखापत्रकी संवाददाता राईलाई ११ हजार रुपैयाँसहित परस्कृत गरिएको हो । धरान खेलकुद मञ्चले पत्रकारिताको माध्यमबाट खेलकुदका क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई पहिलो पटक परस्कृत गरेको हो । उनलाई धरान–८ का वडाध्यक्ष धनबहादुर राई, धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, खेलकुद मञ्चका अध्यक्ष किशोर राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतले सम्मान गरे ।