विजयपुर । धरान उपमहानगरपालिका–९ का अध्यक्ष रूपेश आचार्यले सार्वजनिक बाटो कायम भएको जग्गा व्यक्तिको नाममा ‘नामसारी’ गर्न सिफारिस गरेको तथ्य फेला परेको छ ।

वडाध्यक्ष आचार्यको सिफारिसमा धरान–९ चर्च लाइनको बाटोको जग्गा आचार्य लाइनकै निरज आचार्य र निर्मल अचार्यको नाममा नामसारीसमेत भइसकेको छ । वडाध्यक्ष आचार्यले दुई दशकभन्दा धेरै अघिदेखि बाटो कायम भएको जग्गा बदनियतपूर्ण तरिकाले व्यक्तिका नाममा नामसारी गर्न सिफारिस गरेका हुन् । ब्लाष्टले प्राप्त गरेको कागजातअनुसार वडाध्यक्ष आचार्यले नामसारीका लागि मालपोत कार्यालयलाई २०८० साउन १८ गते सिफारिस गरेका छन् ।

वडाध्यक्ष आचार्यको सिफारिसमा धरान–९ (साविक धरान ७ (ग) को कित्ता नम्बर ७१३ को १ कठ्ठा ७ धुर बाटो कायम भएको जग्गा दुई व्यक्तिको नाममा २०८० साउन २९ गते नामसारी भएको मालपोत कार्यालय धरान–६ सुनसरीको रेकर्डमा देखिएको छ । कागजातअनुसार बाटोको जग्गा आचार्य लाइन लुपका निरज आचार्य र निर्मल अचार्यको नाममा नामसारी भएको हो । उनीहरू दाजुभाइ हुन् । बुबाको मृत्यु भएको २२ वर्ष र आमाको मृत्यु भएको १५ वर्षपछाडि मात्र नामसारीका लागि निवेदन दिएका थिए ।

धरान उपमहानगरपालिकाको घरनक्सा पास उपशाखाले २०५९ साल मङ्सिर ९ गते प्रकाशित गरेको १५ दिने सन्धिसर्पनसम्बन्धी सँधियारको नाममा जारी भएको मुचुल्कामा बाटो भनी उल्लेख छ । उक्त सूचनामा पूर्वतर्फको सँधियार दिलबहादुर मगर, उत्तरतर्फको सँधियारमा दिलबहादुर लिम्बू, दक्षिणतर्फको सँधियारमा जितबहादुर तामाङ र पश्चिमतर्फको सँधियारमा बाटो भनी उल्लेख छ । त्यस्तै सोही बाटोले भेट्ने केशरमान राईको घर निर्माण सम्पन्न भएको कागजातमा पनि पश्चिमतर्फ बाटो भनी उल्लेख छ । उक्त निर्माण कार्य सम्पन्न भएको कागजात धरान उपमहानगरपालिकाले घरधनी राईलाई २०६० साल भदौ २३ गते दिएको देखिन्छ । नापी कार्यालयले जारी गरेको ट्रेस नक्सामा पनि ७१३ नम्बरको कित्ता बाटो नै भनी उल्लेख गरेको छ ।

यता गतवर्ष मात्रै अध्यक्ष आचार्यले सोही बाटोमा बजेट विनियोजन गरी आरसीसी ढलान गरी सडक निर्माण गरेका थिए । गतवर्ष उक्त बाटोमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यस्तै उनीभन्दा अगाडिका वडाध्यक्ष रत्न कटुवालले पनि बाटो पिच गरेका थिए । वर्तमान अध्यक्ष आचार्य र निवर्तमान अध्यक्ष कटवालको पालामा ७१३ नम्बर उल्लेख भएको बाटो आधा–आधा पिच गरेको स्थानीय बताउँछन् । यता वडाध्यक्ष आचार्यले जग्गा भनेर नै सिफारिस गरेको बताए । ‘मैले बाटो भनेर सिफारिस गरेको होइन, जग्गा भनेर नै सिफारिस गरेको हो’–उनले भने । यस विषयमा निवर्तमान वडाध्यक्ष रत्न कटुवालले आफ्नो कार्यकालमा पनि बाटो पिच गरेको बताए । उनले करिब २३ वर्षअघि नै बाटो कायम भएको बताए ।

छोरा निरज र निर्मलले आमा सीता आचार्य र बुबा राधाप्रसाद आचार्यको नाममा रहेको भनी वडामा निवेदन दिएको आधारमा सर्जमिन गरी वडाध्यक्ष आचार्यले सिफारिस गरेका छन् । सर्जमिन गर्दा वडाध्यक्ष आचार्य र तत्कालीन वडा सचिव भानुभक्त आचार्यले जग्गाका सँधियारहरूभन्दा बाहिरका सँधियार राखेका छन् । ब्लाष्टकर्मी त्यहाँ पुगेर बुझ्दा स्थानीयले वडाध्यक्ष आचार्यका छिमेकी र आफन्तलाई नै सर्जमिन गराएको बताए । वडाध्यक्ष आचार्यले भने सर्जमिनमा सँधियार आवश्यक नपर्ने दाबी गर्दै भने, ‘९ नम्बर भरिकाबाट गराउने हो ।’ बाटोको विषयमा बुझ्न सोमबार चर्चलाइनका स्थानीयहरू वडा कार्यालय गएका थिए ।

स्थानीयलाई वडाध्यक्ष आचार्यले गल्ती भएको र सच्याउने बताएको एक स्थानीयले बताए । स्थानीय वडा कार्यालयमा पुगेपछि वडाध्यक्ष आचार्यले मृतकको नाममा जग्गा भएकाले व्यक्तिको नाममा ल्याउन नामसारीका लागि सिफारिस गरेको बताए । सगोलको सम्पत्ति भएकाले बाटो कायम भएपछि मात्रै अंशबण्डाका लागि खुल्ला गरिदिने बताए । उनले भने, ‘मृतकको नाममा भएको जग्गा व्यक्तिको नाममा ल्याउन सिफारिस गरेको हो । तर, अंशबण्डा भएको छैन । बाटो कायम गर्नुपर्छ अनि मात्र अंशबण्डा हुन्छ ।’ बाटो रहेको जग्गाको भूमिकर पनि एकै पटक २०७९/०८० मा तिरेर नामसारीको सिफारिस गरिएको छ ।

दोषीलाई कारबाही गर्न निवेदन
बाटो कामय भएको जग्गा व्यक्तिको नाममा नामसारी भएपछि छानबिनका लागि धरान उपमहानगरपालिकामा निवेदन दिइएको छ । धरानका एक व्यक्तिले आवश्यक छानबिनको लागि उपमहानगरका प्रमुख हर्कराज राईलाई निवदेन दिएका छन् । २०८१ वैशाख ९ गते धरानवासीको नाममा निवेदन दिइएको छ । निवेदनमा सार्वजनिक बाटो व्यक्तिको नाममा नामसारी गर्ने जोकोही दोषी भए कारबाही गर्न माग गरिएको छ । नगर प्रमुख राईले तोक लगाई वास्तविकता बुझेर राय दिन निर्देशन गरेका छन् ।