धरान । खोटाङ जिल्लामा दुई दिने बृहत् निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन भएको छ ।

जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आँखा अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत्रूपमा शिविरको आयोजना गरिएको कारण पनि जिल्लाका विभिन्न पालिका तथा टाढा–टाढाका बस्तीहरूबाट समेत सर्वसाधारण सहभागी भएका थिए ।

आँखा मानव शरीरको अत्यन्त महत्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गरेको शिविरमा संलग्न चिकित्सकहरूले जनाए । शिविरमा पाँच सय १५ जना सर्वसाधारणको आँखा जाँच गरिएको थियो । जसमध्ये १ सय ९६ जना पुरुष तथा तीन सय १९ जना महिला रहेको नवदृष्टि आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतमले बताए ।

शिविरमा ४५ जना मोतिया विन्दुका बिरामीको शल्यक्रिया गरिनुका साथै बिरामीहरूलाई शिविरमै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । इटहरीस्थित नवदृष्टिबाट तेह्र जना नेत्र विशेषज्ञसहितको टोली र फेमिली केयर अस्पताल खोटाङका डा. के.के. राईसहितको टोली शिविरमा संलग्न थियो ।

कार्यक्रमको समापनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलगायतको उपस्थिति थिए ।