धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को देशव्यापी जनप्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ ।

मङ्गलबारको जनप्रदर्शनमा प्रहरीले दमन गरेपछि झडप भएको राप्रपाले जनाएको छ । सो क्रममा प्रदर्शनमा उत्रिएका १४ जना घाइते भएको राप्रपाले जनाएको छ । यस्तै दुईजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । राप्रपाले गत फागुन ९ गते ४० बुँदे माग राखेर प्रदर्शन गर्ने उद्घोष गरेको थियो ।

प्रहरीका अनुसार प्रदर्शनमा उत्रिएका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए । प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्न खोज्दा ढुङ्गा हानेपछि कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

प्रदर्शनकारीमाथि प्रहरीले सुरुमा पानीको फोहोरा हानेको भए पनि अगाडि बढेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । शान्तिपूर्ण जनप्रदर्शनलाई रोक्न खोजेपछि प्रदर्शनकारीले बाध्य भएर आन्दोलित बन्नुपरेको धरान उपमहानगर परिचालन कमिटीका संयोजक नरेश शाक्यले जानकारी दिए । उनका अनुसार त्यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको छ । केही कार्यकर्ताहरू घाइते बनेका छन् ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्नेलगायतका माग राखेको थियो । अवस्थासँगै व्यवस्था बदल्नुपर्ने भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा जनप्रदर्शन गरिएको थियो ।

प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । अध्यक्ष लिङ्देनको नेतृत्वमा भृकुटीमण्डपबाट जनप्रदर्शन सुरु गरिएको थियो । प्रहरीले दमन गर्न खोजेको भन्दै पार्टी अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतले निषेधित क्षेत्रको सडकमा बसेर विरोध जनाएका छन् ।