इनरुवा । सुनसरीको दक्षिणी क्षेत्र भुटाहामा दुई समूहको भिडन्तपश्चात् जारी गरिएको निषेधाज्ञा (कफ्र्यु)का बावजुद हरिनगर क्षेत्रका स्थानीय आन्दोलित बनेका छन् । यस क्रममा स्थानीय र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको छ ।

इलाका प्रहरी कार्यालय हरिनगरमा डाकिएको सर्वपक्षीय भेला विना निष्कर्ष टुङ्गिएपछि आक्रोसित भीड तोडफोड र ढुङ्गामुढामा उत्रिएको थियो । अघिल्लो दिन भएको सर्वपक्षीय र सर्वदलीय बैठकको निर्णय बमोजिम प्रदेशसभा सदस्य, पालिका प्रमुख र दुवै पक्षका अगुवासहितको उपस्थितिमा इलाका प्रशासन परिसरमा सुनसरी प्रशासनले छलफल थालेको थियो ।

छलफलमा सहभागीहरू हो–हल्लामा उत्रिँदै बाहिरिएर आन्दोलन चर्काउन पुगेपछि प्रहरीले आन्दोलन मत्थर पार्ने प्रयास गर्दा झडप हुन पुगेको हो । छलफलमा सहभागी हिन्दु समुदायको भीडले हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी भेलामा उपस्थित नभएको, उनको छोरालाई प्रहरी प्रशासनले पक्राउ नगरेको र घटनाको वास्तविकता नबुझी प्रहरी प्रशासनले आफ्नो पक्षको मात्र दोष देखाइरहेको भन्दै एउटा पक्ष आक्रोसित भएको थियो ।

सोही आक्रोस बढ्दै जाँदा हरिनगरमा झडपको अवस्था सिर्जना हुन पुगेको थियो । प्रजिअ, प्रहरी प्रमुख, दलीय प्रतिनिधि तथा प्रमुखहरूले माहोल साम्य पार्ने प्रयासमा छलफलमार्फत् विश्वास दिलाउन खोजेका थिए । तर, भीडले प्रजिअलगायतको कुरालाई अस्वीकार गरेको थियो । जसमा स्थानीय वडाध्यक्षलगायतका अगुवाहरूले आ–आफ््ना पक्षमा धारणा राख्दै एकले अर्कोलाई दोष थोपर्न थालेसँगै भीड अनियन्त्रित हुन पुगेको थियो ।

उक्त भीड हरिनगर बजारमा पुगेर टायर बाल्दै प्रदर्शनमा उत्रिएको थियो । सोही क्रममा छलफलमा सहभागी भएर फर्कंदै गरेका पालिका प्रमुख सवार गाडीलाई आन्दोलनरत पक्षले निशाना बनाएपछि प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो । आन्दोलनकारीले गाडीमा आगो लगाउने प्रयास गरेपछि सुरक्षाको लागि फायर खोल्नु परेको प्रहरीले जनाएको छ ।

झडपमा एकाएक हुल मिसिएसँगै प्रहरीमाथि ढुङ्गामुढा र पसल तथा बजार क्षेत्रमा तोडफोड सुरु भएको प्रहरीको भनाइ छ । भीड नियन्त्रणमा लिन सुरक्षाकर्मीले २० राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । झडपमा सुनसरी प्रहरीका डिएसपी नवीनकृष्ण भण्डारीसहित सशस्त्र र नेपाल प्रहरी दुवैतर्फका गरी दर्जन बढी सुरक्षाकर्मी घाइते भएका छन् । उनीहरू सबैलाई प्रदर्शनकारीले हानेको ढुङ्गाले लागेको छ । प्रदर्शनकारीले ठाउँठाउँमा पोल लडाएर सडक अवरुद्धसमेत पारेका थिए । थप प्रहरी बल झिकाएर भीडलाई तितरवितर पारिएको प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए । रेग्मीका अनुसार आन्दोलनकारीको समूहले केही प्रहरीमाथि निर्घात कुटपिट गरेको र सो क्रममा एकथान पेस्तोलसमेत लिएर भागेको बताए । उक्त पेस्तोल भने केही स्थानीयकै सहयोगमा तत्कालै फेला पारिएको उनले बताए ।

प्रहरी प्रमुख रेग्मीले झडपमा प्रदर्शनकारीतर्फ के कति घाइते भए भन्ने विवरण प्राप्त भैनसकेको बताए । उनले प्रहरीले आन्दोलनकारी उपर बल प्रयोग गर्नेभन्दा संयमता अपनाएर भीडलाई तितरवितर गर्ने काम गरेको बताए । सो क्रममा डिएसपीसहितका प्रहरी घाइते भएको उनले बताए । एसपी रेग्मीले प्रहरीले हदैसम्मको संयमता अपनाउँदै आएको समेत बताए । उनले आन्दोलनरत पक्षलाई वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रहसमेत गरे ।

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समस्या समाधानको प्रयासस्वरूप छलफल डाकिएको बताए । उनले अवस्था क्रमशः शान्त बन्दै गएको पनि बताए । उनले भुटाहा बजारसहितका क्षेत्रको जनजीवन सामान्य बन्दै गएको बताए । प्रजिअ आचार्यले आवश्यकताका आधारमा सुरक्षा समितिको बैठकले निर्णय लिँदै जाने बताए । उनले प्राप्त उजुरीका आधारमा प्रहरीले घटनामा संलग्न पाइएकाहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याइने बताए । केही व्यक्तिका नाममा पक्राउ पुर्जीसमेत जारी भैसकेको उनले बताए । दोषी उपर कारबाहीको सवालमा कोही कसैको भनसुन नलाग्ने उनले स्पष्ट पारे । उनले सबै पक्षलाई संयमता अपनाउन आग्रहसमेत गरेका छन् ।

यता पीडिततर्फबाट धर्मवीरकुमार आर्यले आइतबारको सर्वपक्षीय छलफल गाउँलेको मागअनुसार नै भएको तर, गाउँपालिका अध्यक्ष नै नआएपछि युवा समूहहरू उत्तेजित भएको हुनसक्ने बताए । ‘गाउँपालिका अध्यक्ष गफार अन्सारी नै नआएपछि कसरी माग सम्बोधन हुन सक्छ र ? भन्ने स्थानीय युवाहरूको बुझाइ रह्यो । हाम्रो सर्कलले बुझ्यो तर युवाहरूको बुझाइ त्यो भएन । उत्तेजित भएका युवाहरूले आन्दोलन गरेका हुन्’ उनले भने, ‘गापा अध्यक्षले मिलाउन सक्नुपर्छ । हामी सबै गाउँपालिकाका जनता हौँ । उहाँले आएर प्रतिबद्धता जनाउनुप¥यो । उहाँ नै नआएपछि कसरी माग सम्बोधन होला ?’