इनरुवा । भुटाहामा शुक्रबार दुई समुदायबीच भएको झडपपछि अशान्त बनेको माहोललाई साम्य पार्न जारी कफ्र्युलाई सुनसरी प्रशासनले शनिबारसमेत निरन्तरता दिएको छ । 

शुक्रबार दिनभर झडप भएपश्चात् सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहितका ५ पालिकामा प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । जसलाई प्रशासनले तत्काललाई निरन्तरता दिएको छ । उसले अवस्था हेरेर कफ्र्यु खुकुलो पारिने जनाएको छ ।

प्रशासनले अबाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन शनिबार बिहानैबाट दक्षिणीभेगमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाउँदै आवश्यकता अनुसार निर्णयमा पुनरावलोकन गरिने जनाएको छ । प्रशासनले कफ्र्यु जारी भएपश्चात् जनजीवन सामान्य बन्दै गएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अवस्थालाई मध्यनजर गर्दै सबैमाझ संयमता अपनाउन आग्रह गरेका छन् । उनले कारबाही, सुरक्षा र संवादलाई सँगसँगै अघि बढाइने बताए । प्रजिअ आचार्यले अवस्था सामान्य बन्दै गएकाले कुनै पनि उच्छृङ्खल गतिविधि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।

यसैबीच घटनाको विषयलाई लिएर शनिबार दिउँसो प्रशासन कार्यालय इनरुवामा सर्वदलीय, सर्वपक्षीय बैठक गरिएको छ । जिल्लास्थित राजनैतिक दलका प्रमुख, कफ्र्यु जारी रहेको क्षेत्रका पालिका प्रमुख तथा सरोकारवाला समुदायका अगुवाहरूको उपस्थितिमा बैठक आयोजना गरिएको थियो ।

उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वसाधारण जनताले शान्तिपूर्ण वातावरणमा जीवनयापन चलाउन पाउनु पर्ने कुरालाई सबै पक्षले गम्भीररूपमा लिनुपर्ने बताएका थिए । निकै खरो उत्रिएका प्रजिअ आचार्यले व्यक्तिगत कुरोलाई धर्म र सम्प्रदायको नाम जोडेर अशान्ति मच्चाउने र राजनीतिक रोटी सेक्न नहुने बताए । उनले पछिल्लो घटनाक्रमलाई सबै मिलेर समाधानको बाटोमा लैजानु पर्ने धारणा राखे ।

बैठकमा उनले घटनामा संलग्न जोकोहीलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशनसमेत दिए । जसमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्न उनले पालिका प्रमुखलगायतमा अनुरोध गरेका छन् ।

बैठकका सहभागीहरूले घटनाको विषयमा सूक्ष्म अनुसन्धान गरी दोषी पाइएका सबैलाई कारबाहीको दायरामा ल्याउने सवालमा सहमति जनाएका छन् । उनीहरूले तनावग्रस्त बन्न पुगेको क्षेत्रका बासिन्दालाई भयरहित वातावरणमा फर्काउन सबै जिम्मेवार व्यक्ति र अगुवाहरूले सामूहिकरूपमा सद्भाव र एकताको सन्देश दिनुपर्नेमा जोड दिए । 

बैठकमा हिन्दु र मुस्लिम अगुवा तथा नेता, स्थानीय तहका प्रमुख, प्रदेश सांसद्हरू र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । बैठकले सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारकर्मीसमेतलाई भ्रामक र उत्तेजक सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रहसमेत गरेको छ ।

सर्वपक्षीय बैठकले ६ बुँदे निर्णय गर्दै शान्ति सुव्यवस्था कायम गर्ने, दुवै पक्षका कार्यक्रम फिर्ता लिँदै सद्भाव र एकता कायम गर्न पहल गर्ने, अवस्था साम्य बनेपछि कफ्र्यु हटाउँदै लैजाने र घटनाको निष्पक्ष छानबिन गर्नेजस्ता निर्णय गरेको छ । बैठकले घाइतेको उपचार राज्यले गर्ने व्यवस्था मिलाउने र निर्वाचत क्षेत्रभित्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद्हरूको तर्फबाट अवस्था सामान्य बनाउन सहजीकरण गरिने निर्णय गरेको छ । सर्वपक्षीय बैठकले संयुक्त अपिलसमेत जारी गरेको छ ।

यसैबीच सुनसरी प्रहरीले कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको बताए । यद्यपि सुरक्षा संवेदनशीलतालाई ख्यालमा राखी बाक्लो सुरक्षा तैनाथी भने कायम राखिएको उनले बताए । एसपी रेग्मीले कफ्र्यु उल्लङ्घन गर्न खोज्नेलाई पक्राउ गरिएको समेत बताए ।

शुक्रबार हरिनगरको भुटाहामा भएको विवाद र झडपले दिनभरजसो दक्षिणी भेग अशान्त बन्न पुगेको थियो । दुवै समुदाय आपसमा भिडेपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन ८३ राउण्ड हवाई फायर र ३१ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको थियो । दोहोरो झडपमा तीन जनालाई गोली लागेको छ भने ४० बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्रहरीको सङ्ख्या ज्यादा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

inaruwa banda1