विराटनगर । तीन महिनाभित्र हुलाकी सडक अन्तर्गत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् ।

उक्त सडक निर्माण कार्यमा ढिला सुस्ती भएको भन्दै कटहरीका स्थानीय एक हप्तादेखि निरन्तररूपमा आन्दोलनमा रहेका थिए । ठेकेदार कम्पनीले आउँदो असार मसान्तसम्म हाटखोला–रङ्गेली हुलाकी सडक–खण्ड अन्तर्गत कटहरीभित्रको सडक तीन महिनाभित्र कालोपत्रे गर्ने प्रतिबद्धता जनाएपछि मङ्गलबारदेखि आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन् ।

स्थानीयले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीको उपस्थितिमा आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । तीन महिनाभित्रमा हुलाकी सडक–खण्ड अन्तर्गत कटहरी क्षेत्रको सडक कालोपत्रे नभए पुनः आन्दोलनमा उत्रिने कटहरीका स्थानीय सञ्जय मण्डलले बताए । ‘स्थानीय प्रशासनको उपस्थितिमा ठेकेदार कम्पनीले कटहरीको खाल्टाखुल्टी सडक पुर्ने र बिहान बेलुका पानी लगाएर धुलो नउठाउने सहमति भएको छ’ उनले भने, ‘तीन महिनाभित्रमा यो सडक कलोपत्रे गर्ने सहमति भएको छ । नभए फेरि हामी स्थानीय आन्दोलनमा उत्रिनेछौं ।’

सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले १५ चैतदेखि दैनिक एक घण्टा सडक अवरुद्ध गरेर आन्दोलनमा होमिएका थिए । यसअघि पनि उक्त सडक तत्काल निर्माण गरिनुपर्ने माग राख्दै नागरिक सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङअगाडि सडक निर्माण तत्काल गरिनुपर्ने माग राख्दै धर्ना दिएका थिए ।

हुलाकी सडक समयमै निर्माण नहुँदा झापासित सिमाना जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोले पीडित छन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । कटहरी गाउँपालिकाभित्र पर्ने सडक निर्माणमा ढिलासुस्ती भएपछि आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको मण्डलले बताए ।  सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मण्डलले बताए । समयमै सडक नबन्दा यहाँका स्थानीयको घरमा धुलो खान बाध्य भएको उनले सुनाए । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’

पटक–पटक काम सुरु गर्न आग्रह गर्दा काम नभएपछि आन्दोलनमा उत्रिएको उनले बताए । धुवाँ र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतालाई लिएर आन्दोलनमा उत्रिनु परेको स्थानीय विक्रम थपलियाले बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने बताए । निर्माण काम सुरु नगरे आन्दोलन सशक्त पारेर अगाडि बढ्ने उनले बताए ।

मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिङ्घिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ ।

२०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० सालसम्म पुर्याइएको थियो । तर, अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ । सडक निर्माण पूरा नहुँदा सर्वसाधारणले कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्नसमेत समस्या हुने गरेको छ । ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का लिएको कर्सिया सडक–खण्ड हुँदै विराटनगर केशलिया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।