आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ।
बिहीबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजनामा पनि लगानी जुटाउनका लागि लगानी सोकेसमा राखिने जानकारी दिएका छन्।
लगानी सम्मेलन निर्देशक समितिले हिजो प्रदेश मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेको थियो। त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिकस्तरका आयोजनाहरुको तयारीबारे छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न निर्देशक समितिले प्रदेशहरुसँग आग्रह गरेको छ।
जलविद्युत्, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने धारणा प्रदेशबाट आएको छ। त्यस्तै, निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औँल्याएका विद्यमान केही कानुनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुबाट आएको थियो ।
![](/uploads/advertise/online ad_1719397537.jpg)
निर्देशक समिति बैठकमा अर्थमन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताएका छन्।
“गैरआवासीय नेपालीहरुलाई पनि लगानी सम्मेलनमा आमन्त्रण गरेका छौँ”, अर्थमन्त्री पुनले भने, “परिस्थितिवश अरु देशको नागरिकता लिएको भए पनि उनिहरु नेपाली नै रहेका छन्। आफ्नो मातृभूमिमा आएर लगानी गर्न इच्छुक पनि हुनुभएको मैले पाएको छु ।”