भद्रपुर । नामकरणको विषयलाई लिएर विवाद भई रोकिएको झापाको आदिवासी रङ्गशालाकोे पुनः निर्माण सुरु गरिएको छ । नाममा विवाद भएपछि कमल गाउँपालिका वडा नं. ५ पाडाजुङ्गीमा रहेको आदिवासी रङ्गशालामा सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्मार्फत् चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन भएपछि बुधबार रङ्गशाला परिसरमा संक्षिप्त कार्यक्रम गरी निर्माण कार्यको औपचारिक रूपमा शुभारम्भ गरिएको छ । निर्माण कार्यको शुभारम्भ रङ्गशालाका अध्यक्षसमेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरेका छन् ।

कमलकै गहना
निर्माण कार्यको शुभारम्भका क्रममा अध्यक्ष राईले आदिवासी रङ्गशालाको कामले अब गति लिने विश्वास व्यक्त गरे । उनले यो रङ्गशाला कमलकै गहना भएकाले यसको विकासमा सबै एक भएर लाग्नुको विकल्प नभएको बताए । उनले आदिवासी रङ्गशालालाई समयमा नै निर्माण सम्पन्न हुनेगरी काम अघि बढाउन स्थानीय सरकार  गम्भीर भएको उनले बताए ।

चिहान भत्काएर रङ्गशाला
रङ्गशालाको अगुवाइ स्थानीय आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानले गर्दै आएको छ । २०६६ सालमा वर्षौंदेखिको आदिवासी, जनजातिको पितृको चिहान भत्काएर आदिवासी रङ्गशाला निर्माण गर्न स्थानीयस्तरमा सहमति भएको थियो । तर, पछिल्ला केही वर्षयता भने रङ्गशालाको नाममा विवाद भएपछि रङ्गशालामा सरकारी बजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको रङ्गशाला समितिका महासचिव दीपेनबाला राईले बताए । तत्कालीन रक्षा मन्त्री रहेकी विद्यादेवी भण्डारीले पहिलो पल्ट २०६७ मा शिलान्यास गरेको महासचिव राईले बताए । शिलान्यासपश्चात् केपी ओली प्रधानमन्त्री भएपछि आदिवासी नाम हटाएर मदन भण्डारी नामकरण गरेपछि विवाद बढेको राईले जानकारी दिए । सरकारबाट बजेट विनियोजन भए पनि नाममा विवाद भएका कारण कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।  

पछिल्लो समय आदिवासी नाममा नै राष्ट्रिय खेलकुद परिषद्मार्फत् यस वर्ष १ करोड बजेट विनियोजन भएको उनले बताए । सोही बजेटबाट रङ्गशालाको काम थालिएको उनको भनाइ छ । बजेटमध्ये डिपीआर अनुसारको उपभोक्तामार्फत् रङ्गशालाका प्रारिम्भक चरणका थप कामहरू सुरु गरिएको उनले बताए । यस वर्ष रङ्गशाला निर्माणका लागि परिषद्को ७६ लाख ९२ हजार ६ सय ९२ र उपभोक्ताको ८ लाख ५४ हजार ६ सय ९२ रुपैयाँ गरी कुल ८५ लाख ४६ हजार ९ सय २८ रुपैयाँको बजेटबाट ३ सय मिटर लामो कम्पाउण्ड वाल निर्माण गरिने उनले जानकारी दिए । रङ्गशाला निर्माणको सम्झौता राखेपसँग यसअघि नै रङ्गशाला समितिले गरिसकेको  निर्माण उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिले यही माघ १८ बाट सुरु गरी २०८२ जेठ १५ गतेभित्रमा योजना अनुसार काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । २९ बिघा क्षेत्रफलमा खानेपानी ट्याङ्कीलगायत अन्य संरचना भएकोले २४ बिघा क्षेफल रङ्गशालाले ओगटेको उनले जानकारी दिए । निर्माण कार्यलाई प्रभावकारी बनाउन उपभोक्ता समितिले साताको शनिबार स्थानीयलाई श्रमदान गर्ने गरी काम अघि बढाउने उपभोक्ता समितिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

उपभोक्ता र अनुगमन समिति
उक्त बजेटअनुसारको काम सम्पन्न गर्न रङ्गशाला समिति तथा सरोकारवालाहरूले महासचिव राईको अध्यक्षतामा पाँच सदस्यीय उपभोक्ता समिति र पालिका अध्यक्ष राईको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । गठित उपभोक्ता समितिको उपाध्यक्ष विष्णुमाया थापा, सचिवमा रविन गुरुङ, कोषाध्यक्षमा देवेन्द्रराज आङ्देम्बे तथा सदस्यहरूमा रोशन दाहाल, सुदीप राई र मनकुमारी लिम्बू रहेका छन् ।

यसैगरी अनुगमन समितिको सदस्यहरूमा रन्जित तामाङ, नित्यानन्द ताजपुरिया, विष्णु सुब्बा आङ्देम्बे, लालबहादुर विष्ट, पारसमणि राई रहेका छन् ।

सरकारले बजेट उपलब्ध नगराउँदा रङ्गशालाको कामले गति लिन सकेको थिएन । रङ्गशालाका लागि विभिन्न आर्थिक वर्षमा ४ करोड बढी बजेट विनियोजन भए पनि बजेट पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा रङ्गशाला ओझेलमा परेको स्थानीयको भनाइ छ ।

शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कमल–१ का वडाध्यक्ष केदार कटुवाल, २ का वडाध्यक्ष अशोक सुब्बा, ५ का वडाध्यक्ष एलबी विष्ट, ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, रङ्गशालाका पूर्व महासचिव धीरेन लावती, गाउँपालिकाका इन्जिनियर सागर यादव, काङ्ग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, कमल काङ्ग्रेसका सभापति खगेन भण्डारी, नेफिन कमलका अध्यक्ष बद्री राईसहित रङ्गशाला समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।