तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटाका नागरिकहरू स्वास्थ्यसम्बन्धी उपचार तथा परामर्श सेवाको बारेमा ज्ञान नहुँदा धरान, विराटनगर नै पुग्नुपर्ने बाध्यता रहँदै आएको छ ।

सामान्य रोग भए पनि रोगबारे उपचारसम्बन्धी परामर्श नपाउँदा वर्षांैदेखि टाढा पुगेर सेवा लिनुपर्ने बाध्यता रहँदै आएको हो । यी र यस्तै समस्यामा रहेका नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ परेवादिन स्वास्थ्यचौकीमा ई–हेल्थ तथा टेलिमेडिसिन सेवा सुरु गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान र छथर जोरपाटी गाउँपालिकाको सहकार्यमा सेवा सुरु गरिएको हो । बुधबार एक कार्यक्रमका बीच छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बाले उद्घाटन गरेका छन् । गाउँ र दूरदराजमा रहेका आर्थिीकरूपमा कमजोर भएका नागरिकहरूलाई सेवा दिने उद्देश्यका साथ सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष सुब्बाले बताए ।

गाउँपालिकाको समन्वयमा नयाँ प्रविधिको सेवा सुरु भएको गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ खेवाले बताइन् । उनले भनिन्, ‘गाउँपालिकाका नागरिकहरू अस्वस्थ रहेका बेला टाढा पुगेर सेवा लिन नपरोस् भनेर हामीले सेवा सुरु गरेका हौँ ।’ सामान्य सल्लाहले मात्रै पनि सजग रहन सक्ने भएकाले नागरिकहरूलाई सहयोग गर्ने अपेक्षा रहेको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष दीपक गुरुङले बताए । गाउँ–गाउँमा रहेका दीर्घरोगीहरूलाई सामान्य परामर्शले सेवा पाउने भएकोले यो सेवा प्रभावकारी हुने गुरुङको भनाइ छ ।

ई–हेल्थ तथा टेलिमेडिसिन सेवा स्वास्थ्यचौकीमा हरेक बुधबार साप्ताहिक रूपमा सञ्चालन हुने भएको छ । अनलाइनको माध्यमबाट प्रतिष्ठानका चिकित्सकहरूको प्रत्यक्ष परामर्श सेवा दिन सुरु भएको हो । सेवा सुरु भएसँगै स्वास्थ्यको बारेमा परामर्श पाएको स्थानीयहरूले डेन्डी शेर्पाले बताए । गाउँपालिकामा नै पहिलो पटक सेवा दिन सुरु गरिएको हो ।

सेवा सुरु भएसँगै पहिलो दिन १० जनाले सेवा लिएका छन् । यो सेवा प्रभावकारी बनाउन प्रतिष्ठान र चिकित्सकहरूसँगको परामर्शमा हरेक हप्ता फरक– फरक किसिमका बिरामीहरूलाई फरक–फरक विशेषज्ञ सेवा दिइने भएको छथर जोरपाटी स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले बताए । गाउँपालिकाले विगतका वर्षदेखि नै नागरिकहरूलाई विभिन्न स्वास्थ्य सेवाहरू दिँदै आएको छ । यो सेवालाई गाउँपालिकाको सबै वडाहरूमा सञ्चालन गरिने भएको छ ।