विराटनगर । विराटनगरस्थित  न्यूरो हस्पिटलले दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित जनजागृति युवा  क्लब तथा सुखीपुर उद्योग व्यापार समितिको प्राङ्गणमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा सुखीपुर नगरपालिका सिरहा, जन जागृति युवा क्लब, सुखीपुर उद्योग व्यापार समितिको संयुक्त आयोजनामा शिविर भएको थियो । शिविरमा १ हजार १९ जना बिरामीले स्वास्थ्य परीक्षण गराएको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए । शिविरमा न्यूरो हस्पिटलका १५ जना विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रञ्जन थापा, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. अमित देव, वरिष्ठ विशेषज्ञ रेडियोलोजिष्ट डा. निरज रेग्मी, विशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेल , विशेषज्ञ न्युरो सर्जन डा. आशिषजङ थापा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निशा अधिकारी, छाला रोग विशेषज्ञ डा. रिचा शर्मा, आपतकालीन सेवा चिकित्सक डा. दिलकुमार लिम्बू, विशेषज्ञ कार्डियोलोजिष्ट डा. राजन कर्ण, वरिष्ठ दन्तरोग विशेषज्ञ डा. अमितप्रताप साह, फिजियोथेरापिस्ट डा. नविन चौधरीे, मेडिकल अफिसरहरु डा. स्वीटी यादब, डा.आकाश दास, डा. अख्लख अन्सारी लगायतले विरामीको स्वास्थ्यजाँच गरेका थिए ।

एउटै छानामुनी न्युरो अस्पतालका विशेषज्ञ चिकित्सकहरूले स्थानीयस्तरमा बिरामीलाई स्वास्थ्य उपचार गरेपछि स्थानीय दङ्ग देखिन्थे । स्वास्थ्य जाँच गरिएका बिरामीको चिकित्सकको सिफारिसअनुसार निःशुल्क सुगर परीक्षण, इसिजी, अल्ट्रासाउण्ड, इइजी, एनसीभी, बिएमडी जाँच गरिएको थियो । शिविरमा पोषणसम्बन्धी परामर्शसमेत दिइएको थियो ।

त्यसैगरी शिविरमा आएका बिरामीलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरेको थियो  । न्युरो अस्पतालले कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न स्थानमा गई विभिन्न उपकरणसहित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।