विराटनगर । विराटनगरस्थित कोशी अस्पताल विकास समितिले आफन्त भर्ना गर्न आफू अनुकूलको मापदण्ड तयार गरी कर्मचारी भर्नाको सूचना आह्वान गरेको छ ।

५० जना चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक कर्मचारी नियुक्त गर्न फरक–फरक मापदण्ड बनाई सूचना गरिएको हो । ४ माघमा सूचना गरिएको छ । उक्त कामका लागि तीन महिनाको सेवा करार रहने गरी सूचना जारी गरिएको छ । केही महिनाअगाडि समितिले एक सय २३ जना अस्थायी पद सिर्जना गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । समितिले माग गरेको भन्दा आधा नै कम गरी ५० जनाको दरबन्दी स्वीकृत गरेको थियो ।

कुन तहमा कति ?
मन्त्रालयले दरबन्दी स्वीकृत गरेपछि अस्पतालले आठौँ तह, सातौँ तह, पाँचौँ तहका लागि माग गरेको छ । अस्पतालले आठौं तहमा १० जना मेडिकल अधिकृत, सातौं तहमा एक जना नर्सिङ अफिसर, पाँचौं तहमा ३० जना स्टाफ नर्स, दुईजना बायोमेडिकल इन्जिनियर र सातजना फार्मेसी सहायक माग गरेको छ । पाँचौं तहको स्टाफ नर्सका लागि लिखित र अन्तरवार्ता दुवै लिने सूचनामा उल्लेख छ । तर, सातौं तहको नर्सिङ अधिकृत नियुक्त गर्न समितिले अन्तरवार्ता मात्र लिने गरी सूचना जारी गरेको छ ।

सूचनाले चकित स्वास्थ्यकर्मी
समितिले अन्तरवार्ता मात्रै लिने गरी सूचना जारी गरेपछि भने स्वास्थ्यकर्मी चकित बनेका छन् । विगतको अभ्यासको ठीक विपरीत रहेको स्वास्थ्यकर्मी बताउँछन् । ‘यसअघि नियुक्ति भएको स्वास्थ्यकर्मीहरुलाई लिखित र अन्तरवार्ता दुवै उत्तीर्ण हुनुपथ्र्यो । सूचना विभेद गरिएको छ । जुनियर कर्मचारीलाई भने लिखित र अन्तरवार्ता दुवै छ । सिनियर अधिकृतमा चाहिँ अन्तरवार्ता मात्र राखिएको छ । सूचना हेरेर हामी पनि छक्क परेका छौँ’ नाम नछाप्ने शर्तमा अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘विकास समितिले आफ्नो मान्छे राख्नेका लागि यस्तो गरेको होला कि भन्ने हाम्रो अनुमान हो ।’

समितिका पूर्व अध्यक्ष महेश भट्टराईले लोकसेवा आयोगको नियमलाई टेकेर रिक्त रहेको दरबन्दीमा पदपूर्ति गरिनुपर्ने बताए । ‘हामीले यसअघि नियुक्त गर्ने कर्मचारीहरु खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्नको लागि सूचना आह्वान गरेर लिखित र मौखिक दुवै परीक्षामा उत्तीर्ण हुनेलाई राख्ने गरेका थियौँ’ उनले भने, ‘अहिले किन केही पदमा मौखिक मात्र राखेको हो ? यो आफू अनुकूलको व्यक्ति नियुक्त गर्ने चलखेल हुनसक्छ ।’

समितिले पहिलो पटक सातौं तहको नर्सिङ अधिकृत नियुक्त गर्ने तयारी गरेको छ । त्यो पनि निष्पक्ष नियुक्ति नहुने आशङ्का बढेको कोशीका स्वास्थ्यकर्मीहरु बताउँछन् । कोशीमा हाल दशौँ तहको एकजना मात्रै नर्सिङ अधिकृत रहेकी छन् । आठौँ तहका एकजना र सातौँ तहका तीनजना नर्सिङ अधिकृत रहेका छन् । उनीहरु लोकसेवा उत्तीर्ण गरी आएका स्वास्थ्यकर्मी हुन् । यता पाँचौं तहका दुईजना बायोमेडिकल टेक्निसियनको नियुक्तिका लागि पनि अन्तरवार्ता मात्रै लिने तयारी गरिएको छ । सूचनाअनुसार २१ दिनभित्र इच्छुकले दरखास्त दिनसक्ने अस्पतालले उल्लेख गरेको छ ।
कसले दिन पाउँछ आवेदन ?

अधिकृत तहको लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायकको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् । अस्पतालको अस्पताल विकास समितितर्फ कर्मचारी भर्ना गर्न लागिएको हो ।

सुटुक्क नियुक्त बायोमेडिकल इन्जिनियर
समितिले पाँचौं तहका लागि एकजना बायोमेडिकल इन्जिनियर सुटुक्क निर्णय गरी नियुक्त गरेको पाइएको छ । समितिका अध्यक्ष डा. फरवर्ड सिलवालको भित्री इच्छामा खुल्ला प्रतिस्पर्धा नगरी गोविन्द मिश्रलाई बायोमेडिकल इन्जियिरमा नियुक्त गरेको हो ।

समितिको पुस २२ मा बसेको बैठकले उनलाई करारमा नियुक्त गरेको छ । समितिको अध्यक्ष भएर आएपछि सिलवालले अस्पतालमा नियुक्त गरिने सम्पूर्ण कर्मचारीहरु खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने दाबी गर्दै आएका थिए । तर, उनको अडान केही महिनापछि नै फेरिएको छ । सिलवालले सूचना आह्वान नगरी सुटुक्क मिश्रलाई नियुक्त गरेको स्वास्थ्यकर्मी बताउँछन् । यता अन्य बायोमेडिकल इन्जिनियरको हकमा भने सूचना जारी गरिएको छ ।

Dr Farwad silwal  के भन्छन् समितिका अध्यक्ष ?
समितिका अध्यक्ष डा. सिलवालले अस्पतालको काम कारबाहीको लागि बायोमेडिकल इन्जिनियर जरूरी परेकोले काम गर्दै आएकालाई नियुक्ति गरेको स्वीकारे । ‘कोशीमा म आएपछि हरेक दिन सामान बिग्रियो भन्दै कर्मचारीहरु आउने गरेका थिए । बाहिरबाट हायर गरेर बायोमेडिकल इन्जियर ल्याउँदा ठूलो रकम खर्च हुने गरेको थियो । त्यो रोक्नको लागि हामीले राम्रो काम गर्ने बायोमेडिकल इन्जिनियर राखेको हो’ उनले भने, ‘हामीले गरेको नियुक्तिमा मुद्दा परे पनि हामी डिफेन्ड गर्छौं । पाँच सय शøयामा विस्तार हुने अस्पतालमा बायोमेडिकल इन्जिनियर जरूरी छ । त्यसैले पनि हामीले नियुक्ति गरेका हौं ।’ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्दा ठूलो रकमको चलखेल हुने भएकोले त्यो रोक्न पनि विज्ञापन नगरी नियुक्त गर्नु परेको उनको दाबी छ ।

Dr Chandra Bhal jha    के भन्छन् मेसु ?
कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले दरबन्दी कम भएको पदमा मात्र अन्तरवार्ता राखिएको दाबी गरे । ‘सङ्ख्या बढी भएकोमा हामीले लिखित र अन्तरवार्ता राखेका हौँ । नियुक्तिको प्रक्रिया लामो र झन्झटिलो हुन्छ । त्यसैले पनि कम सङ्ख्यामा हामीले अन्तरवार्ता मात्र राखेका हौं’–उनले भने । नियुक्ति प्रक्रिया निष्पक्ष र खुल्ला प्रतिस्पर्धाबाट हुने उनले बताए । कर्मचारी नियुक्ति अस्पताल विकास समितिले बनाएको पदपूर्ति समितिले गर्ने उनले बताए । विकास समितिले बनाएको पदपूर्ति समिति बालरोग विशेषज्ञ डा. रामनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय रहेको छ । समितिको अन्य सदस्यहरुमा फिजिसियन डा. मनोज ठाकुर र दिनेश न्यौपाने रहेका छन् ।