धरान उपमहानगरपालिकाको वडा नं.२० भौगोलिक रुपमा विकट छ । साविकको विष्णुपादुका गाविस अन्तर्गत पर्ने यो वडाका वासिन्दाले स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषयमा समस्या भोग्दै आएका छन् । 

विगतमा धेरै समस्या भोग्दै आएका स्थानीयवासीले संघीयतापछि गाउँमा विकासको लहर चल्ने आशा गरेका थिए । संघीयता लागुभएपछि पहिलाको गाउँ धरानमा गाभिएर उपमहानगरपालिका बन्यो । नाममा उपमहानगरपालिका बनेपनि स्थानीयका समस्या जस्ताको तस्तै छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा अहिले पनि गाउँलेले धरान झर्नु पर्ने बाध्यता छ । 

वडामा स्वास्थ्य चौकी त नभएको होईन तर त्यहाँ कर्मचारी बस्न मान्दैनन् । कुनै नयाँ कर्मचारी आएपनि राजनीतिक सोर्सफोर्स लगाएर धरान उपमहानगरपालिका तिरै झरिहाल्छन् त्यसपछि स्थानीय पनि स्वास्थ्य उपचार गर्न धरान बजार झर्नै पर्ने बाध्यता हुन्छ । विगतदेखि भोग्दै आएको यो समस्याले अहिलेपनि स्थानीयलाई पिरोलिरहेको छ । 

केही समयअघि मात्र धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाबाट खटिएर वडा नं.२०को स्वास्थ्य चौकीमा उमेश राई पुगेका थिए । उनी केही समय स्वास्थ्य चौकीमा बसे तर छोटो समयमै आउन छाडे । स्थानीयका अनुसार उनी सोर्सफोर्स लगाएर उपमहानगरपालिकामै बसेका छन् । राजनीतिक सोर्सफोर्स लगाउन नसक्ने कर्मचारी मात्र स्वास्थ्य चौकीमा रहेको स्थानीयवासीहरु बताउँछन् । वडा नं. २०का अध्यक्ष पदमबहादुर लिम्बुका अनुसार स्वास्थ्य चौकीमा ६÷७ जनाको दरबन्दी रहेपनि हाल ३÷४ जना मात्र काम गरिरहेका छन् । उपमहानगरपालिकाबाट आउने स्वास्थ्यका कर्मचारीहरु गाउँमा बस्न नमान्ने गरेको उनको गुनासो छ । उनी भन्छन्, ‘यहाँ दुई चारदिन आएर कि उपमहानगरपालिकामा जान्छन्, कि छाताचोकको पुरानो अस्पतालमा थुप्रिन्छन्, गाउँलाई सबैले हेला गर्छन् ।’

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत उमेश मेहता हालै वडा नं. २०मा पठाइएका उमेर राई हाजिर गरेर केही समयपछि धरान आएको बताउँछन् । अब चाँडै उनको ठाउँमा अर्को कर्मचारी पठाउने तयारी गरेको उनको भनाई छ । उनले भने, ‘त्यस्तो समस्या छ तर हाम्रो पहुँच भन्दा बाहिरको कुरा हो तर चाँडै समस्या नहुने गरी मिलाउने कोशिस गरिरहेका छौं ।’