इनरुवा । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्ने गरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्लास्थित राजनैतिक दलहरूले भत्र्सना गरेका छन् ।

नेपाली काङ्ग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालनको तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरेको छ । सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको प्रक्रिया अघि बढाइएको विषयलाई जोड्दै अस्थायीरूपमा अन्यत्र गएको भनेको छ । बैठकले अस्थायीरूपमा बेलबारीबाट सेवा थाल्दै आएको प्रदेश प्रहरी अस्पताल स्वयम्ले उपयुक्त स्थान र दाता खोजीका क्रममा जिसस सुनसरीले उपलब्ध गराएको संरचना उपयुक्त ठानी सेवा विस्तारका लागि रोजेको स्पष्ट पारेको छ ।

प्रहरीको प्राविधिक टोलीसहित कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलासहितको टोलीले दुवैतर्फका पूर्वाधार संरचनाको अध्ययन गरी इनरुवा उपयुक्त ठहर गरेको दलको ठहर छ । पूर्व परिपत्र र सूचनाका आधारमा बेलबारीबाट अस्पताल इनरुवा सारिएको दाबी गरेका सुनसरीका दलीय अगुवाहरूले राजनैतिक आडमा अस्पताललाई इनरुवाबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन ।  सर्वदलीय बैठकले इनरुवामा उद्घाटनको तयारी अवस्थामा रहेको अस्पतालको विषयमा विवाद सिर्जना गराउने काम भएको भन्दै अस्पताल संरक्षणका लागि आफूहरू सडक सङ्घर्षमा उत्रनसमेत तयार रहेको जनाएको छ ।

सर्वदलीय बैठकको नेतृत्व गरेको नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले प्रहरीले नै इनरुवा रोजेको अस्पताल जबरजस्ती अन्यत्र लान खोजिए सुनसरीका दल आन्दोलनमा उत्रिने बताए । उनले सिर्जित घटनाक्रमलाई केन्द्रीय तहबाटै निष्पक्ष छानबिन टोली गठन गरी सुल्झाइनु पर्ने माग राखे । उता जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले प्रहरीको प्राविधिक टोलीले उपयुक्त ठहर गरी सञ्चालनका लागि स्रोत साधन जुटाइसकेको अवस्थामा अस्पताल उद्घाटन हुन नदिनु दुःखद् भएको प्रतिक्रिया दिए । मेहताले लामो समयदेखि प्रदेश प्रहरी अस्पतालले जग्गासहितका पूर्वाधार खोजिरहेको अवस्थामा आफूले समितिबाट पास गराएर २ बिघा ३ कठ्ठा जग्गासहित ४० कोठे भवन संरचना उपलब्ध गराएको बताए ।

मेहताले प्रहरी अस्पतालका लागि आवश्यक संरचना बेलबारी र इनरुवामध्ये कुन उपयुक्त भन्ने बारेमा निष्पक्ष छानबिन समिति गठन गरेर अनुगमनपश्चात् टुङ्ग्याइनुपर्ने बताए । उनले प्रहरी टोलीकै प्राविधिक जाँचपश्चात् इनरुवा सारिएको अस्पतालका नाममा बखेडाबाजी गरिनु उचित नहुने बताए । सर्वदलीय बैठकले आफूहरूका जायज माग सम्बोधनमा ढिलाइ भए रिले अनसनसहित सडक सङ्घर्षका कार्यक्रम अघि बढाइनेसमेत निर्णय गरेको छ । सर्वदलीय बैठकमा प्रदेश सांसद् रामप्रसाद मेहता, काङ्ग्रेस नेताहरू सीताराम मेहता, राजीव कोइराला, एमाले नेताहरू पोष्ट नेपाल, पर्शुराम यादव, माओवादीका योगेन्द्र मण्डलसहित मधेशी नेताहरू भगिरथ खत्वे, दिलिपचन साहुका साथै स्वतन्त्र पार्टी, राप्रपा, जनमतलगायत राष्ट्रिय दलको प्रतिनिधित्व पर्ने पार्टीका जिल्लास्थित प्रतिनिधिहरू सहभागी थिए ।

बैठकको एजेन्डाका सवालमा एकमत देखिएका सबै दलका नेताहरूले प्रहरी अस्पतालले सर्वसाधारणको समेत सहज एवम् सुलभ उपचार गर्ने र गराउने भएकाले संरक्षणका लागि जिल्लाबासी सबै एकजुट हुन आवश्यक रहेकोमा जोड दिए । उनीहरूले इनरुवामा रहेको प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटन गरी सञ्चालनको लागि आ–आफ्नो तर्फबाट लबिङ थाल्ने सहमतिसमेत जनाए ।