विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा निर्माणाधीन भवन साढे दुई वर्षमा २५ प्रतिशत मात्र निर्माणको काम पूरा भएको छ ।

साढे दुई वर्षको सम्झौता अवधि सकिन तीन हप्ता बाँकी रहँदा २५ प्रतिशत मात्र निर्माण कार्य पूरा भएको हो । कोशीको भवन निर्माणको सम्झौता अवधि यही पुस २२ गते सकिँदैछ । सम्झौता अवधि सकिनु अघि पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको छ ।

कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेन्डर खुलाएको थियो । रमन भूमि, बि.आई. पि.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो । उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते सङ्घीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो । कोशीभित्र बन्दै आएको अत्याधुनिक सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काममा भएको ठेकेदारभित्रको आन्तरिक विवाद र ढिलासुस्तीको कारण निर्माणमा ढिलाइ भएको छ ।

सुरुमा कृष्ण बोहरा सञ्चालक रहेको भूमि कन्स्ट्रक्सनले निर्माणको काम सुरु गरेको थियो । निर्माण सुरु गरेको केही दिनपछि भूमिले करिब पाँच महिना निर्माणको काम रोकेको थियो । त्यसपछि ठेकेदार बोहरा सम्पर्कविहीन भए । अहिले पवनकुमार महतो सञ्चालक रहेको भूमि कन्स्ट्रक्सनका पार्टनर रमणले निर्माणको काम सुरु गरेका छन् ।

लामो समयसम्म निर्माणको काम रोकिएको र निर्माण सम्पन्न नभएपछि पहिलो पटक म्याद थप गरिने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाईका प्रमुख सुरेन्द्रकुमार साहले बताए । ‘निर्माण कम्पनीले म्याद थपको लागि समयसीमा माग गर्ने तयारी गर्दैछ’ उनले भने, ‘म्याद सकिनुअगाडि पहिलो पटक म्याद थप गरिनेछ ।’

ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । ठेक्का आह्वान गरेकोभन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेवीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरू बताउँछन् । निर्माण कम्पनीले हालसम्म ८ करोड  रुपैयाँभन्दा बढी रकम भुक्तानी लिइसकेको छ । निर्माण गरेअनुसारको भुक्तानी लिएको हो । यसरी निर्माणको चरणमा रहँदै गर्दा बीचमै ठेकेदारले काम रोक्दा सम्झौता अवधिमा निर्माण पूरा हुन नसक्ने प्राविधिकहरूले बताएका छन् ।

कस्तो बन्ने छ नयाँ भवन ?
चार कठ्ठा दुई धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भूइँतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको छ । दोस्रो तलामा एचडियुसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्युरोको सेवा रहनेछ । चौथो तलामा ५० शøयाको हुनेछ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । मास्टर प्लानअनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौं तलामा ५२ शय्याको जनरल वार्ड र छैठाै‌ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शøयाको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शय्या पुर्याउने तयारी गरिएको छ ।