संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

 इलामको प्रमुख पर्यटकीय क्षेत्र माङमालुङको भ्रमणपछि मन्त्री किरातीले देशको पर्यटन क्षेत्रको अधिकतम उपयोग गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्नसकिने बताउनुभयो । नेपाल विश्व पर्यटनको केन्द्र बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउँदै उनले भने,“यहाँका हरेक ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् ।

यहाँका विभिन्न जातजातिको संस्कृति, परम्परा एवं सभ्यता पर्यटकका लागि आकर्षक छन्।धेरैभन्दा धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”मन्त्री किरातीले प्रकृति र संस्कृतिको संयोजनबाट नै पर्यटन प्रवद्र्धन हुने बताउँदै भने “हाम्रो प्राकृतिक संरचनाजस्तो छ, त्यसको मौलिकता नमासिने गरी विकास गर्नुपर्छ ।

अनिमात्र विदेशी पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।” उनले माङमालुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।