बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृत्तिविकासको माग राख्दै आन्दोलनरत शिक्षकसँग प्रतिष्ठान पदाधिकारीको वार्ता मिलेको छ । 

पदाधिकारी र चिकित्सकबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा ०७२ पुस २० मा साथै ०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापनबमोजिम आवश्यक प्रकृया पुर्याई अन्तर्वार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तर्वाता आगामी ०८० पुष २ गतेदेखि सुरु गरी पुष १५ गते सम्ममा सम्पन्न गर्ने अन्तर्वार्ता सम्पन्न गरी एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ । 

सहमतिपत्रमा प्रतिष्ठान व्यवस्थापनले शिक्षक समाज, समाजको सदस्य र कुनै शिक्षकप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत सम्पूर्ण पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैका मितिदेखि स्थगन गरी आ–आफ्नो कार्यमा सहभागी हुने सहमति भएको छ । 

सहमतिपत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रह्लाद कार्की, रजिस्ट्रार सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य प्राडा स्मृति कार्कीको उपस्थिति रहेको थियो । धरानका नगर प्रमुख हर्कराज राई आमन्त्रित सदस्यका रुपमा उपस्थिति थिए भने संचालक परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो । 

हिजो रातभर बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । आज शिक्षक चिकित्सकसँग सहमति भएको छ भने आन्दोलनरत कर्मचारीसँग सहमति हुन सकेको छैन । वार्ता प्रतिष्ठानको गेष्ट हाउसमा भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले बताए । 

शिक्षकसँग वार्ता सफल भएपछि कर्मचारी कल्याण समाजसँग पदाधिकारीको छलफल सुरु भएको छ । हर्क साम्पाङ बैठकबाट बाहिरिएका छन् भने दलका नेता वार्तामा उपस्थित भएका छन् । 

प्रतिष्ठानमा हाल करारका शिक्षक झण्डै ५० जना छन् । करारको प्रत्येक वर्ष सम्झौता हुने गरेको छ । विगत ७ वर्षदेखि प्रतिष्ठानका शिक्षकको पदोन्नति हुन सकेको छैन भने कर्मचारी १५ वर्षदेखि यथास्थितिमा छन् ।

प्रतिष्ठान पदाधिकारी र आन्दोलनरत पक्षबीच वार्ताको सहमति गर्न धरानका नागरिक समाजका अगुवा आन्नद आर्चाय, उद्योग वाणिज्य संघका अध्यक्ष विजयकुमार श्रेष्ठ, धरानका पूर्व मेयर कुमारबहादुर कार्की, पत्रकार किशोरकुमार कार्कीलगायतका प्रतिनिधिको छलफलमा उपस्थिति रहेको थियो । निरन्तर छलफलले आन्दोलित डाक्टर र बिपीका पदाधिकारीसँग दुई पक्षीय वार्ताको प्रयास भएको थियो । वार्तापछि सहमति भएको नागरिक समाजका अगुवा आन्नद आर्चायले जानकारी दिएका छन् ।