विराटनगर । एग्रो टुरिजमको प्रवद्र्धन गर्न पर्यटन व्यवसायीहरूले माग गरेका छन् ।

इलामको सूर्योदय नगरपालिका–५ समालबुङमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पर्यटन व्यवसायीहरूले यस्तो बताएका हुन् ।

सूर्योदय नगरपालिका–४ र ५ का पर्यटन व्यवसायीहरू सहभागी भएको कार्यक्रममा उनीहरूले एग्रो टुरिजमको प्रवद्र्धन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले समृद्धिका लागि कृषि र पर्यटनलाई जोडेर एग्रो टुरिजमको विकास गरिनुपर्ने बताए । इलामको श्रीअन्तु क्षेत्र प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको र धेरै सम्भावना बोकेको क्षेत्र भएकाले एकीकृत रूपमा पर्यटकीय क्षेत्रको रूपमा विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा एग्रो टुरिजममार्फत् अहिलेका युवाहरूले व्यवसाय गर्न चाहिरहेको पर्यटन व्यवसायीहरूले बताए । एग्रो टुरिजमको विकास भए अन्तु आउने पर्यटकलाई थप केही दिन राख्न सकिने उनीहरूले बताए । अन्तु डाँडा एग्रो फन्सका प्रबन्धक निर्देशक विजय सुवेदीले कृषिमा रूपान्तरण गर्दै पर्यटनको विकासको लागि एग्रो टुरिजमा जोड दिनुपर्ने बताए । कृषिलाई आधार बनाएर पर्यटक भित्र्याउने रणनीति अनुरूप कृषिमा आधारित ‘एग्रो टुरिजम’ व्यवसाय गर्न ९० रोपनीमा अन्तु डाँडा एग्रो फन्स सञ्चालनमा ल्याएको उनले बताए । व्यावसायिक कृषि उत्पादन र तिनै उपजबाट पर्यटन प्रवद्र्धन गर्ने उनको योजना रहेको छ ।

कार्यक्रममा अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्षका रुद्रप्रसाद घिमिरेले यहाँको एग्रो टुरिजमको विकास गरेर आन्तरिक र वाह्य पर्यटक भिœयाउनुपर्ने बताए । श्रीअन्तुमा एग्रो टुरिजमको विकास गर्नसके यहाँको पर्यटन क्षेत्र थप चलायमान हुने भएकोले हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा सूर्योदय नगरपालिका–४ र ५ का दुई दर्जन बढी पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका प्रमुख अतिथि, अतिथि र व्यवसायीहरूले ९० बिघा क्षेत्रफलमा फैलिएको अन्तु डाँडा एग्रो फन्सको पनि अवलोकन र निरीक्षण गरेका थिए  । अहिले अन्तु डाँडा एग्रोमा चिया, विभिन्न प्रजातिका तरकारी, फलफूल, माछा, लोकल कुखुरा, नेपालको सबैभन्दा लामो गौतमबुद्धको मूर्ति रहेको छ । यहाँ एक लाख रुपैयाँ प्रतिकेजी पर्ने ग्रीन टी पनि उत्पादन हुने गरेको छ । ग्रीन टी विदेश निर्यात गर्ने योजना बनाएको सञ्चालक सुवेदीले बताए ।

सोही अवसरमा नाट्टा कोशी प्रदेशका अध्यक्ष भट्टराई अन्तु डाँडा एग्रो फन्सका आजीवन सदस्य पनि बनेका छन् ।