नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैँपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन् । 

दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ तेस्रो सातामा प्रदर्शनरत छ । खगेन्द्र लामिछानेले निर्माण तथा लेखन रहेको चलचित्रलाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गरेका छन् । 

‘दर्शकले रुचाएका कारण पशुपति प्रसादको कथालाई निरन्तरता दिएका हौँ । हामीले मौलिक नेपाली कथालाई पर्दामा प्रस्तुत गरेका छौँ’, लेखक लामिछानेले भने । 

चलचित्र ‘परदेशी २’ चौंथो सातामा प्रदर्शनरत छ । नारायण रायमाझीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, प्रकाश सपुत, नीर शाह, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन् । 

चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिएका युवा र सन्तानको पर्खाइमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको निर्देशक रायमाझीले बताए । 

उनले भने, ‘मेरा अघिल्ला चलचित्र झैँ मौलिक कथालाई नै पर्दामा ल्याएको छु । अहिले चलचित्र भवनमा पुग्दा दर्शकमार्फत पाइरहेको प्रतिक्रियाले उत्साहित छु । उहाँहरू आफ्नै गाउँ समाजको कथालाई पर्दामा हेर्न पाउँदा खुसी हुनुहुन्छ ।’ चलचित्रलाई रमेश बिजीले लेखेका हुन् ।