धरान । अवैध रूपमा नेपाल ल्याउँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरी बल मोरङको टोलीले बरामद गरेको छ ।

प्रहरीका अनुसार सुनसरी लैजाँदै गरेको अवस्थामा करिब सात लाख ५० हजार रुपैयाँ मूल्य बराबरको कुर्तासलवार बरामद गरिएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले बिहीबार साँझ विशेष सूचनाका आधारमा विराटनगरको कञ्चनबारीबाट आठ सय ३४ थान कुर्तासलवार बरामद गरिएको छ ।

प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपमा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा बोलेरोसहित नियन्त्रणमा लिइएको उनले जानकारी दिए । सुनसरीतिर ल्याउँदै गरेको अवस्थामा गाडीको मूल्यसहित करिब २२ लाख ५० हजार छ सय रुपैयाँको सामान बरामद गरिएको उनले जानकारी दिए ।

यसक्रममा प्रहरीले चालक मोरङ विराटनगर महानगरपालिका–७ का जयकुमार राईलाई समेत नियन्त्रणमा लिएको छ । बरामद गरिएको सामग्रीसहित चालक राईलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।