नेपालमा पछिल्लो समय जातीय र धार्मिक विषय उछालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ । देशका विभिन्न भागमा कहिले हिन्दु र इसाईबीच विवाद उत्पन्न हुन्छ त, कहिले हिन्दु र मुसलमानबीच । त्यस्तै कहिले जातीय विषय चर्काएर द्वन्द्व गराउने प्रयास भइरहेका छन् । छिमेकी देश भारतमा पछिल्लो समय हिन्दुत्वको प्रभाव बढ्दो छ । भारतमा पहिल्यैदेखि हिन्दु र मुसलमानबीच तनाव उत्पन्न हुने गरेको छ । छिमेकी भारतको त्यही धार्मिक प्रवृत्तिको असर पछिल्लो समय नेपालका विभिन्न स्थानमा देखिन थालेको छ । केही समयअघि धरानमा मन्दिरअगाडि चर्च निर्माण गरिएको विषयमा उत्पन्न विवाद, गोरू काटेर सार्वजनिक रुपमा भोज खाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि उत्पन्न भएको विवाददेखि जनकपुरमा भएको आन्दोलन र नेपालगञ्जमा भएको हिन्दु र मुसलमानबीचको तनावले के नेपालमा धार्मिक द्वन्द्वको विजारोपण भइरहेको त छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।

नेपाल विगतदेखि नै बहुसांस्कृतिक, बहुधार्मिक देश हो । एउटा धर्मले अर्को धर्मलाई सम्मान गर्ने, एउटा जातिले अर्को जातिलाई सम्मान गर्ने देश नेपालमा सामाजिक सद्भाव त्यति कमजोर छैन भन्ने उदाहरण त पछिल्ला यी विवादको समाधान गर्न समाजका अगुवाहरुले खेलेको भूमिकाबाट प्रष्ट बुझ्न सकिन्छ । धरानमा गोरू काटेर भोज गरेको भिडियो सार्वजनिक भएपछि देशव्यापी चर्चा भयो । हिन्दुधर्मका अनुयायीहरुले गौहत्या विरूद्ध धरानमा शान्तिपूर्ण ¥याली निकाल्ने तयारी गरेपछि झडप हुने अवस्था आउन नदिन स्थानीय समाजका अगुवाहरुले सद्भाव ¥याली निकाले । त्यसपछि प्रशासनले कफ्र्यु लगाएर ¥याली गर्न रोक लगाएपछि विवाद साम्य भयो । उता नेपालगञ्जमा पनि हिन्दु र मुसलमान समुदायबीच सद्भाव खल्बलिने गतिविधि बढेपछि दुवै धर्मका गुरूहरुले सद्भाव ¥याली निकाले । त्यसले धर्मका नाममा उच्छृङ्खल गतिविधि गर्नेहरु निरूत्साहित भए । यसरी समाजका अगुवा र धर्म गुरूहरु सचेत हुने हो भने पनि धेरै हदसम्म यस्ता विवाद साम्य हुन सक्छन् भन्ने उदाहरण यी घटनाबाट देखिएको छ । तर, समाजका सबै मान्छेको सोच एकै नाशको हुँदैन । जुनसुकै धर्म वा जातिभित्र पनि अराजक मानसिकता भएका व्यक्तिहरु हुन सक्छन् । त्यस्तै व्यक्तिहरुले हो सानो विषयलाई पनि उछालेर द्वन्द्वको अवस्था निम्त्याउने । यस्तो प्रवृत्तिलाई सबैले निरूत्साहित गर्नु आवश्यक छ ।

पछिल्लो समय सूचना र प्रविधिको विकाससँगै समाजमा सद्भाव बिथोल्न खोज्नेहरुलाई सामाजिक सञ्जालले सहज बनाइदिएको छ । नेपालमा भइरहेका यस्ता विवादहरु धेरैजसो सामाजिक सञ्जालमार्फत् देशभर फैलिएका छन् । समाजलाई गलत दिशातिर निर्देश गर्न खोज्ने व्यक्तिहरुले सामाजिक सञ्जालको दुरूपयोग गरिरहेका छन् । त्यसैले सामाजिक सञ्जालमा भइरहेका यस्ता गलत क्रियाकलाप निगरानी हुनु जरूरी छ । नेपालीहरुबीच शदियौंदेखि कायम रहेको जातीय र धार्मिक सद्भाव बिथोल्न खोज्नेहरु को को हुन् ? खोजी गर्न आवश्यक छ । धार्मिक र जातीय विषय एकदमै संवेदनशील हुन्छ । यस्तो विषयलाई नजरअन्दाज गर्नु हुँदैन । समस्या कहाँ छ र कति गम्भीर हो भन्ने विषयमा सामाजिक नेतृत्व र राजनीतिक नेतृत्व सचेत हुनुपर्छ । यस्तो विषयलाई राजनीतिक फाइदाका लागि प्रयोग गरिनु हुँदैन । राजनीतिक दल, सामाजिक अगुवा सबै मिलेर सद्भाव बिथोल्न खोज्नेलाई पहिचान गरेर सचेत गराउनु आवश्यक छ । नेपाली समुदायबीचको सामाजिक सद्भाव कसैले बिथोल्न नपाओस् ।