हिन्दू धर्म गुरु आचार्य श्रीनिवासलाई कानुनविपरीत पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न सुनसरीका धार्मिक सङ्घसंस्थाले माग गरेका छन् ।

धरानस्थित विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समिति, विजयपुर अध्यात्मिक मञ्च, हिन्दू जागरण नेपाल सुनसरी, सनातन धर्म संरक्षण तथा जागरण समिति, ॐ कार परिवारलगायतका धार्मिक संस्थाले आचार्य श्रीनिवासको ससम्मान रिहाइको माग गरेका हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै धार्मिक संघसंस्थाले हिन्दू धर्ममाथि प्रहार गर्नेहरूलाई कानूनी कार्वाही गर्नसमेत माग गरेका छन् । आचार्यलाई रिहा नगरिए  जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्  ।

'राज्य संवेदनशील बनोस् । यस्ता क्रियाकलापमा संयमता अपनाओस् भन्ने पनि हामी आग्रह पनि गर्दछौं', विज्ञप्तिमा भनिएको छ, 'हिन्दू राज्य स्थापनाको माग गर्ने र गौ संरक्षणका लागि अनवरत क्रियाशील युवासन्त आचार्य श्रीनिवासज्युलाई प्रशासनले अपहरण शैलीमा बिना कारण, बिना पक्राउ पुर्जी  असोज १६ गते पक्राउ गरेर बेपत्ता बनाएको घटना प्रति ॐकार परिवारको घोर आपत्ति छ ।'

धर्म स्थापना, धर्म संरक्षण र गौमाताको रक्षाका खातिर घर व्यवहार त्याग गरेर जोगी बनेका व्यक्तिसँग राज्य यति निर्मम हुन्छ भने आम हिन्दूहरू कति सुरक्षित होलान् भन्ने गम्भिर प्रश्न उठेको धार्मिक सङ्घसंस्थाले उल्लेख गरेका छन् । 

'राज्यको यस्ता क्रियाकलापले यो राज्य हिन्दूहरूप्रति पूर्णतया असहिष्णु र निर्मम छ भन्ने दर्शाउँछ ।' विज्ञप्तिमा भनिएको छ ।

हिन्दूहरू प्रति विष वमन गर्ने, कुनै एक जातिमाथि बारम्बार सार्वजनिक दुर्व्यवहार गर्ने शरणार्थीसम्म भन्ने, खुलेआम गौ हत्या गरेर चुनौती दिनेहरूलाई खुल्ला छाडेर हामी ॐकार परिवारलाई छानीछानी खोजी खोजी धरपकड गर्ने र कारबाहीको धम्की दिनुले यो सरकार विदेशी मालिकको इशारामा धर्म समाप्त पार्न क्रियाशील रहेको धार्मिक संघसंगठनको ठहर छ ।

'करिब ९० प्रतिशत सनातनीहरूको भावना र मागविपरीत मुलुकलाई धर्म निरपेक्ष बनाउने कुकृत्यले मुलुकलाई द्वन्द्वको भुमरीमा पारेर फाइदा लिने विदेशीहरूको चलखेलका कारण देश प्रतिदिन सामाजिक र धार्मिक द्वन्द्वमा फस्दै गईरहेको छ ।' विज्ञप्तिमा भनिएको छ, 'जातीय सद्भाव भड्काउनेहरू संसदमा पुर्याइएका छन् । मन्दिर अगाडि चर्च निर्माण गरेर सनातनी हिन्दूहरूलाई हेप्ने प्रयास गरिन्छ । अधिकांश नागरिकले पुज्ने गौमाताको सार्वजनिक हत्या गरेर भोज लगाइन्छ । यस्ता क्रियाकलाप गर्नेहरूले हुंकार गरेर समाजमा विद्वेश फैलाइरहदा राज्यले उनीहरूलाई कानूनी कारबाही गर्नुको साटो संरक्षण दिइरहेको प्रतीत हुन्छ ।'