धरान कार्यपालिका बैठक विगतदेखि नै नोकझोकको अड्डाका रुपमा देखिंदै आएको छ । त्यसको ज्वलन्त उदाहरण आज बुधबारको कार्यपालिका बैठकमा देखियो । आरोप प्रत्यारोपका बीचमा 'अराजकताको पराकाष्ठा' को अभिव्यक्ति बारम्बार सुन्न पाइयो । त्यसको प्रत्यक्ष प्रसारण फेसबुक पेज र युट्युब च्यानलले गरे ।

कार्यपालिका बैठकमा संयमताको खडेरी देखिन्छ भने विनम्रताको गुन्जायस हुँदैन, निर्णयको सिन्को भाँचिदैन । तीन महिना अघिदेखि बस्न नसकेको बैठक पछिल्लो दुई पटक बसेको छ तर 'गल्लीको लफडा' भन्दा कम देखिंदैन । कार्यपालिका सदस्य एकातिर सुरिइन्छ्न भने मेयर बीसको उन्नाईस हुँदैनन् ।

'तपाईं अराजक हो हिजो नगरपालिकाको गेटमा बसेर होहल्ला गरेको जस्तो अराजकता देखाउन पाइँदैन ।' कार्यपालिका सदस्य बैठकमै चर्को स्वर गर्छन् । मेयर त्यसलाई दबाउँला जस्तै गरी 'हो, अराजकताको पराकाष्ठा नै हो ।' बारम्बार दोहोर्याइरहन्छ्न् ।
आजको कार्यपालिका बैठकमा घण्टाघरका निष्कासित कर्मचारी पुनर्बहालीको विषय, मेयर साम्पाङले शनिबारको दिनसमेत सरकारी गाडी दुरुपयोग गरेको, कर्मचारीलाई महाशाखा परिवर्तन गरेको, व्यक्तिको निजी जग्गाको घर भत्काउन पत्र पठाउन कर्मचारीलाई आदेश दिंदा अदालतको विचाराधीन मुद्दामा पत्र नकाट्ने जवाफ पाएपछि कारबाही स्वरुप महाशाखा परिवर्तन गरेकोलगायत विषय उठे ।

मेयर साम्पाङले कर्मचारी आफ्नो खुसीले चलाउने भन्दै कार्यपालिका सदस्यलाई '८४ मा चुनाव जितेर मेयर भएपछि तपाइँले पनि चलाउनू' भनेपछि कार्यपालिका भाँडियो । बैठकमा मेयर साम्पाङको अभिव्यक्तिको प्रतिवाद भएपछि उनले बैठक स्थगित भएको जानकारी गराए ।

कार्यपालिका बैठकबाट निर्णय गर्ने प्रतिबद्धता जनाएपछि 'सेफल्याण्डिङ' भएको मजदुर आन्दोलनको विषय उठेपछि धरान कार्यपालिकामा भाँडभैलो भयो ।

कार्यसूचीमा ४ नम्बर बुँदामा रहेको 'निष्कासित कर्मचारीलाई उपदान दिने सम्बन्धमा' शीर्षक रहेको निष्कासित मजदुरको मुद्दा उठेपछि मेयर हर्कराज राई (साम्पाङ)ले पुनर्बहाली गर्दै नगर्ने अडान लिएपछि कार्यपालिका भाँडिएको हो ।

'तपाइँको ज्वाइँ चाहिँ राख्न मिल्ने निष्कासित कर्मचारी पुनर्बहाली गर्न नमिल्ने?' भन्दै कार्यपालिका सदस्यले कुरा उठाएपछि मेयर साम्पाङले नराख्ने अडान लिएका थिए ।

मेयर साम्पाङको निर्देशनमा घण्टाघरका कर्मचारी उमेर हदको कारण देखाउँदै निष्कासन गरेपछि मजदुरहरुले घण्टाघर बन्द गर्नेलगायतका चरणबद्ध आन्दोलन गरेका थिए । मेयर साम्पाङले कार्यपालिकामा निर्णय गर्ने लिखित सहमति गरेपछि मजदुरले बन्दलगायतका कार्यक्रम फिर्ता लिई घण्टाघरको ताला खोलेका थिए ।

मेयर साम्पाङ आफैंले हस्ताक्षर गरी उनका सहोदर ज्वाइँ र साडुलाई घण्टाघरमा नियुक्ति दिएका थिए । नियुक्तिको पत्र वडा नम्बर २ लाई समेत बोधार्थ दिइएको थियो । मेयर साम्पाङले कर्मचारी नियुक्ति आफ्नै हस्ताक्षरमा अवैधानिक रुपमा गरेका थिए । संचारकर्मीले उक्त पत्र माग गर्दा कर्मचारीले उक्त पत्र लुकाएका थिए ।

'कार्यसूचीमा घण्टाघरको कुरा थियो, निष्कासित कर्मचारी पुनर्बहाली गर्ने कुरा उठेपछि मेयर साबले राख्दै नराख्ने कुरा गर्नुभयो,' कार्यपालिका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले भने, 'कार्यपालिका सदस्यहरुले कर्मचारी राख्न माग गरेपछि मेयर साब रिसाउनु भयो ।'

अधिकांश समय कार्यपालिकामा हात बाँधेर बसेका उपमेयर अइन्द्रविक्रम बेघा जनताले जनप्रतिनिधिलाई 'लर्न' पठाएको जस्तो भयो भन्ने प्रतिक्रिया दिन्छन् । किन मौन बस्नु भएको भन्ने संचारकर्मीको जिज्ञासामा उनी 'नबोल् नबोल् भन्छन्' भन्दै प्रतिक्रिया दिन्छन् । तर कसले भन्यो भन्ने विषय चाहिँ उनी बताउँन चाहाँदैनन् ।

कार्यपालिका बैठकको युट्युब च्यानल र फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यपालिकाका प्रत्येक बैठक सन्चारकर्मीहरुले प्रत्यक्ष प्रसारण  गर्दै आएका छन् ।