धनकुटा । नेपालीहरूको राष्ट्रिय पर्वहरू दसै‌, तिहार नजिकिँदै गर्दा धनकुटामा कालोबजारी नियन्त्रण र शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग बृहत् छलफल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा मङ्गलबार सम्पन्न भएको सरोकारवालाहरूबीचको छलफलमा सहभागीहरूले चाडपर्वको बेला कालोबजारी नियन्त्रण गर्नुपर्नेमा विशेष जोड दिएका छन् । दसैं, तिहार भनेको नेपालीहरूको मौलिक पर्व भएकाले पनि मनोरञ्जनको वातावरण स्थानीय प्रशासन र स्थानीय सरकारले बनाउनु पर्ने सहभागीहरूले मागसमेत गरेका छन् ।

उनीहरूले दैनिक उपभोग्य खाद्यवस्तुहरूको गुण नियन्त्रण, मूल्य निर्धारण, अनुगमनलाई प्रभावकारी कार्यान्वयनको लागि स्थानीय प्रशासनले पहल गर्नुपर्नेमा जोड दिएका छन् । छलफलमा सहभागीहरूले नेपालीहरूको राष्ट्रिय पर्वलाई रमाइलो र नागरिकले दुःख नपाउने गरी चाडपर्व मनाउने वातावरण बनाउनु पर्नेमा विशेष जोड दिएका छन् ।

छलफलमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आदिवासी जनजातिहरूको मौलिक चाडपर्वहरूमा स्थानीय प्रशासनले विशेष सुरक्षा दिने बताएका छन् । छलफलमा दसैं, तिहारलाई मध्यनजर गरेर धनकुटाका बजारमा सेल लगाउन व्यापारीहरूलाई अनुरोध गर्ने, एउटै बजारमा १ भन्दा बढी दसैंबजार वा मेला लगाउन नदिने, सवारी साधनहरूमा यात्रुको चापलाई नियन्त्रण गर्ने, दैनिक उपभोग्य वस्तुहरूको मूल्य निर्धारण गर्नेलगायत विविध विषयमा छलफल भएको थियो ।

प्रजिअ पौडेलको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पूर्व प्रदेश सांसद् कुसुम श्रेष्ठ (जुली), उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासङ्घका अध्यक्ष नगेन्द्र राई, फोनिज १ नम्बर प्रदेशका अध्यक्ष सन्तवीर लामा, यातायात व्यवसायी सरोज आठपहरिया, राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाका अध्यक्ष विपिन श्रेष्ठ, एमालेका नैन विश्वकर्मा र जसपाका डम्बर कटुवाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा भीमदल गण धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबू महर्जन, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका डिएसपी सुजनकुमार भारती, राष्ट्रिय अनुसन्धान धनकुटाका निमित्त कार्यालय प्रमुख रमेश कट्टेललगायतको उपस्थिति रहेको थियो ।