विराटनगर । विराटनगरका दुई शैक्षिक संस्था ‘मर्ज’ भएका छन् । विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मङ्गलबारबाट मर्ज भएको कलेजले जनाएको छ ।

शैक्षिक क्षेत्रमा इतिहास बोकेका दुई कलेजहरूले विद्यार्थीहरूलाई समय सापेक्ष एवम् प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मर्ज गरिएको लर्ड बुद्ध कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले जानकारी दिए । मर्जरपछिको यस कलेजले प्रदेश तथा राष्ट्रियस्तरमा अब्बल शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्दै अगाडि बढ्ने उनले बताए । २१ आंै शताब्दी सुहाउँदो अन्तर्राष्ट्रियस्तरको मापदण्डलाई पूरा गर्ने शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अबका दिनमा अवलम्बन गर्ने कार्यक्रम रहेको उनले सुनाए ।

‘कलेजले राष्ट्रिय तथा प्रादेशिक रूपमा प्राप्त गरेको सफलता चाहे त्यो शैक्षिक वा अतिरिक्त क्रियाकलापको नतिजा नै किन नहोस्, त्यसको पछाडिको महŒवपूर्ण कडी भनेको हाम्रा आदरणीय अभिभावकवर्गले हामीप्रति अहिलेसम्म गर्नुभएको विश्वास तथा प्रगाढ स्नेहले गर्दा नै हो’ प्रबन्ध निर्देशक भट्टराईले भने, ‘अगामी दिनमा परिवर्तित शैक्षिक परिवेशलाई मध्यनजर गर्दै लैजाने नीति तथा कार्यक्रमहरूलाई यहाँहरूले हार्दिकताका साथ ग्रहण गरी कलेजको शैक्षिक उन्नयनमा सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा गर्दछौँ ।’

यो मर्जर प्रक्रिया शैक्षिक उन्नति, प्रगति तथा शिक्षण सिकाइका लागि एउटा सकारात्मक कदम हुने बताइएको छ । दुई शैक्षिक संस्था मर्जपछि शैक्षिक संस्थाबाट अझ उत्कृष्ट, गुणस्तरीय तथा व्यावहारिक शिक्षा प्रदान गर्दै असल, चरित्रवान, नैतिकवान नागरिक उत्पादन गर्ने जनाएको छ ।

मर्जबाट दुवै संस्थाहरूले सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सम्पूर्ण कार्यक्रमहरू एक आपसमा समाहित भई सञ्चालन हुने कलेजले जनाएको छ ।

व्यवस्थापन, कानून, शिक्षा सङ्काय अध्यापन हुँदै आएको कलेजमा मर्जपछि यस कलेजमा विशेषगरी सूचना प्रविधिसम्बन्धी कोर्षहरूको पनि पढाइ हुनेछ । ‘हाम्रो उद्देश्य आजको बजार सुहाउँदो व्यावहारिक शिक्षा प्रदान गर्नु रहेको छ । हामी विद्यार्थीहरूलाई व्यावहारिक शिक्षाको साथै रोजगारीको अवसर पनि प्रदान गर्नेछौँ । हामी यस कलेजको नयाँ भविष्यको बारेमा अत्यन्त संवेदनशील एवम् उत्साहित छौँ ।

हामी विश्वास गर्दछौं कि यो मर्जर कार्यक्रमले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा वृद्धि भई उनीहरूको शैक्षिक, शारीरिक, मानसिक एवम् चरित्र निर्माणमा कोसेढुङ्गा सावित हुनेछ । प्रविधिमैत्री वातावरण र अहिलेको समयसापेक्ष सिक्ने सिकाउने अभियानमा हामी सदैव सचेत रहिरहनेछौँ’–दुवै कलेजले संयुक्तरूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लर्डबुद्धको तर्फबाट प्रबन्धक निर्देशक राजेश भट्टराई र विराट क्षितिज कलेजको तर्फबाट प्रबन्ध निर्देशक निरिश श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसअघि पनि लर्डबुद्ध कलेजले कोशी कलेजसँग मर्ज गरिसकेको छ ।