धनकुटा । धनकुटाको पाख्रीबासमा सोमबार सम्पन्न जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा धनकुटा–७ सिरवानीका पूर्णबहादुर डङ्गोल प्रथम भएका छन् ।

जलपादेवी क्याम्पस पाख्रीबासले आयोजना गरेको प्रतियोगितामा पाख्रीबास नगरपालिका वडा नं.४ का विमल गुरुङ द्वितीय र सोही वडाकै मन्तोष गुरुङ तृतीय भएका छन् । जिल्लाभरिका ३८ जना प्रतिस्पर्धी सहभागी भएको प्रतियोगितामा भोजपुर हतुवागढीका योगेनहाङ राईले सान्त्वना पुरस्कार पाएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १५ हजार, १० हजार, ६ हजार र ३ हजार नगदसहित मेडल, प्रमाण–पत्र पाएका थिए ।

विजयी खेलाडीहरूलाई पाख्रीबास नगरपालिकाका उप-प्रमुख नम्रता देउजा गौतमले मेडल, नगद पुरस्कार, खादा र प्रमाण–पत्र प्रदान गरेकी थिइन् । प्रतियोगिता समापनको अवसरमा बोल्दै उपप्रमुख देउजा गौतमले भनिन्, ‘युवाजगत्लाई खेलकुदको माध्यमबाट अनुशासित बनाई देशको विकासमा टेवा पु¥याउने उद्धेश्यले बुद्धिचाल प्रतियोगितामा पाख्रीबास नगरपालिकाले सहयोग गरेको हो ।’ उनले आगामी दिनमा पनि खेलकुदको क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जलपादेवी क्याम्पस पाख्रीबासका क्याम्पस प्रमुख लोकेन्द्र पौडेलले धनकुटामा बुद्धिचाल खेलप्रेमी खेलाडीहरूको वृद्धि र विकास होस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले धनकुटाका बुद्धिचाल खेलप्रेमी खेलाडीहरू अन्य प्रदेशलगायत केन्द्र र अन्तर्राष्ट्रियजगत्मा पनि प्रतिस्पर्धा गर्न सक्ने बनाउन हरेक वर्ष जलपादेवी क्याम्पसले प्रतियोगिता आयोजना गर्दै आएको स्पष्ट पारे ।

कार्यक्रममा जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष रमेशचन्द्र अधिकारी, पाख्रीबास न.पा.–४ का वडाध्यक्ष सन्तोष मानन्धर, फोनिज प्रदेश नं. १ का अध्यक्ष सन्तवीर लामा, जालपादेवी मा.वि.का सह–प्रधानाध्यापक देवता थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जलपादेवी क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष देवबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न प्रतियोगिता समापन समारोहको सञ्चालन जालपादेवी मा.वि.का शिक्षक टेकनाथ अधिकारीले सञ्चालन गरेका थिए ।