इनरुवा । चतरा–वराहक्षेत्र सडक–खण्डबाट ठूलो परिमाणको लागूऔषधसहित छ जना पक्राउ परेका छन् । चतरा पुलबाट वराहक्षेत्र मन्दिर जाने सडक–खण्डबाट सशस्त्र प्रहरीले एक सय २० किलो गाँजासहित छ जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल, नं. १ वराह बाहिनी मुख्यालय पकलीबाट खटिएको एसपी विक्रम हुमागाईं नेतृत्वको टोलीले उक्त परिमाणको गाँजासहित मानिसलाई पक्राउ गरेको हो । वराह बाहिनीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले भारतीय नम्बर प्लेटको बीआर ०२ आर ९९९४ नम्बरको सुमो गोल्ड गाडीको सिटमुनी लुकाइएको अवस्थामा गाँजा बरामद गरेको हो ।

सिटमुनी फल्स बटन बनाई लुकाएर भारततर्फ लैजान लागिएको अवस्थामा गाँजासहित ओसार–पसारमा संलग्न चारजना र संलग्नताको आङ्शकामा थप दुईजना गरी छ जनालाई पक्राउ गरिएको सशस्त्र बाहिनी मुख्यालय पकलीका सहायक वाहिनीपति तथा प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए ।

प्रवक्ता कर्णजितका अनुसार पक्राउ पर्नेमा ओसार–पसारमा संलग्न रहेका भारतीय नागरिकहरूमा सवारी चालक महमद सिराजसहित अस्ताजु आलम, नसिम आलम र नेपाली नागरिक शिवमकुमार साह रहेका छन् । त्यसैगरी ओसार–पसारमा संलग्न भएको आशङ्कामा पक्राउ परेकाहरूमा भारतीय नागरिक ओमप्रकाश रजक र नेपाली नागरिक ओमप्रकाश साह रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट सशस्त्र प्रहरीको टोलीले गाँजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको पल्सर मोटरसाइकल, नेपाली र भारतीय रकमसहित विभिन्न मोडलका छथान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी मुख्यालय पकली सुनसरीले जनाएको छ ।