धरान । उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वप्रमुख बलदेव चौधरीलाई भ्रष्टाचारको मुद्दा लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको विज्ञप्तिअनुसार उनीसहित चारजना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, राजस्व शाखाका प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका सञ्चालक राजेश बछारविरुद्ध बुधबार मुद्दा दर्ता गरेको हो । अख्तियारले विशेष अदालतमा बुधबार ढुङ्गा–गिट्टी उत्खनन् गर्न दिने क्रममा राजस्व चुहावट गरी ठेक्का लगाएको भन्दै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

आर्थिक वर्ष ०७८/७९ मा ढुङ्गा, गिट्टी, ग्राभेल, रोडा, बालुवा उत्खनन् सङ्कलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्य गरी मिलेमतोमा राजस्व हानि नोक्सानी गरेको भन्ने उजुरीका आधारमा मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा आईई प्रतिवेदनलाई बेवास्ता गरी ६२ लाख ९१ हजार २ सय ४ रुपैयाँ २२ पैसा राजस्व चुहावट गरेको अख्तियारको आरोप छ ।

यस्तै चौधरीले ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढङ्गले उत्खनन् र बिक्री गर्न दिएको भन्दै चौधरीले १८ लाख ४४ हजार १ सय ७७ रुपैयाँ ९४ पैसा चुहावट गरेको अख्तियारले जनाएको छ । चौधरीले जम्मा ८१ लाख ३५ हजार ३ सय ८२ रुपैयाँ १६ पैसा राजस्व चुहावट गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (क) र (ख) बमोजिमको कसूरमा सोही रकम बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

अख्तियारले राजश्व रकमको दोब्बर १ करोड ६२ लाख ७० हजार ७ सय ६४ रुपैयाँ ३२ पैसा जरिबाना हुनुपर्ने माग दाबीसहित अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, राजश्व शाखाका प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटांैडाका सञ्चालक राजेश बछारविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यता कार्कीविरुद्ध ८१ लाख ३५ हजार ३ सय ८२ रुपैयाँ १६ पैसा राजस्व चुहावट गरेको आरोप छ । उनीविरुद्ध पनि दोब्बर जरिबाना हुनुपर्ने माग दाबी गरिएको छ ।