धरान । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्यालय क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।इटहरीका विद्यालय क्षेत्रबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ जफत पनि गरेको छ ।

नगरले विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ साथै मादक पदार्थ बिक्री वितरण गरेमा कारबाही गर्ने चेतावनी दिएको छ । नगरका प्रमुख हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीका अनुसार विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएपछि भारी परिमाणमा सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । उनका अनुसार बिक्री वितरण गर्नेलाई कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

इटहरी उपमहानगरपालिकाले बुधबार बजार अनुगमन गर्दै ठूलो परिमाणमा बिक्रीका लागि राखिएको सुर्तीजन्य पदार्थ बरामद गरिएको हो । विद्यालय क्षेत्र वरपर मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि निषेधित क्षेत्र घोषणा गरिएको बताए । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासोका आधारमा अभियान थालिएको हो ।

विद्यालय वरपर रहेका पसलहरूमा सुर्तीजन्य पदार्थ भए नभएको बारेमा उपमहानगरपालिकाका कर्मचारीले निरन्तर अनुगमन गर्ने प्रेस संयोजक पुरीले जानकारी दिए । विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ । उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगरप्रमुख पौडेलले बताए । उनले भने, ‘हामीले पहिलो चरणमा विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ नराख्न आग्रह गरेका छौँ, हाम्रो आग्रहलाई बेवास्ता गर्नेलाई कानूनी दायरामा ल्याउनेछौँ ।’

विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ । विद्यालय क्षेत्रको करिब १ सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको छ । सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्नसमेत आग्रह गरिएको छ ।