धरान । सुनसरीको स्वस्तिक रोलिङ मिल्स भारतमा अवार्डेड भएको छ । स्वस्तिकले बजरङ्ग ब्रान्डको टिएमटी छड उत्पादन गर्दै आइरहेको छ ।

भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको हो । कोलकातामा आयोजित कार्यक्रममा टाटा आइरन एन्ड स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्ड प्रदान गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा स्थापित स्वस्तिक रोलिङले १० महिनाअघि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

उद्योगले ‘बजरङ्ग’ बाहेक एङ्गल, च्यानल र आई बिम पनि उत्पादन गर्दै आइरहेको छ । टाटा स्टिल भारतको सबैभन्दा ठूलो र ब्रान्डेड फलाम उद्योग हो । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ ।

उद्योगका निर्देशक राठीले उद्योगबाट उत्पादन सुरु भएको एक वर्ष नपुग्दै टाटा स्टिलबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाउनु खुसी र गौरवको विषय भएको बताए । निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएमसम्मका छडको उत्पादन गरिरहेको जानकारी दिए ।