कुनै समय पूर्वका सहरहरू लागूऔषधको कारोबार, खुकुरी हानाहानजस्ता आपराधिक क्रियाकलापका कारण बदनाम थिए । स्थानीय समुदायको सतर्कता र प्रहरी प्रशासनको सक्रियतापछि आपराधिक क्रियाकलाप न्यून भएका थिए । केही वर्ष अलि शान्त देखिएका पूर्वका सहरहरूमा पछिल्लो समय आपराधिक गतिविधि बढ्न थालेका छन् । यसबाट पूर्व क्षेत्रमा सुरक्षा चुनौती बढिरहेको देखिन्छ । सोमबार विराटनगरमा दिनदहाडै तरबार बोकेर आएको समूहले एक जना युवामाथि प्रहार गर्दा उनी घाइते भएका छन् । तरबार प्रहार गर्नेहरू फरार छन् । मङ्गलबार धरानमा विद्यार्थीहरूबीच खुकुरी हानाहान भयो । यसबाहेक ग्याङफाइट, लागूऔषध कारोबारदेखि हत्यासम्मका घटना बढिरहेका छन् । यस्ता आपराधिक घटना बढ्नु भनेको नागरिकको सुरक्षाको जिम्मा लिएर बसेको प्रहरी प्रशासनमाथि पनि चुनौती थपिनु हो । त्यस्तैले यस्ता घटनालाई नजर अन्दाज गरिनु हुँदैन ।

युवापुस्तामा देखिएको लागूऔषधको दुव्र्यसनदेखि खुकुरी हानाहानसम्मका घटनाले हाम्रो समाज गलत दिशामा गइरहेको सङ्केत गर्छ । युवापुस्तामा विचलन आउनुमा सर्वप्रथम घरपरिवार र सामाजिक वातावरणले प्रभाव पारेको हुन्छ । परिवारले नै राम्रो बाटो देखाउन नसक्दा युवापुस्ता दुव्र्यसनको बाटोमा लाग्न सक्छन् । त्यसपछि आफू वरपरको वातावरण कस्तो छ ? साथी सङ्गत कस्तो छ ? भन्ने कुरा सबैभन्दा ख्याल गर्नु आवश्यक छ । युवापुस्तालाई दुव्र्यसनको बाटोमा लाग्न नदिन र लागेकाहरूलाई सुधार गर्नका लागि समाजको ठूलो भूमिका हुन्छ । समाज कस्तो छ, केटाकेटीको हुर्काइ, बढाइ र पढाइ पनि त्यस्तै हुने हो । समाजले सही बाटोमा हिँड्नेलाई प्रोत्साहन र गलत बाटोमा हिँड्नेलाई निरुत्साहन गरी सत्मार्गमा ल्याउने प्रयत्न गर्नसके दुव्र्यसनको बाटोमा लाग्ने सम्भावना कम हुन्छ । परिवार र समाजले पनि सही बाटोमा ल्याउन नसकेकाहरूलाई सुधार गर्नका लागि कानून बनेको हुन्छ । कानूनको पालना गराउने काम प्रहरीदेखि अदालतसम्मले गर्छन् । तर, समाज सैद्धान्तिक कुराजस्तो सरल हुँदैन, यसलाई विभिन्न व्यावहारिक कुराले जटिल बनाएको हुन्छ । समाजअनुसार जटिलता पनि फरक–फरक हुन सक्छन् । त्यसलाई प्रहरी प्रशासनले पनि बुझ्न सकेमात्र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सहज हुन्छ ।

पछिल्ला दिनहरूमा पूर्वी सहरमा बढिरहेका आपराधिक गतिविधिहरूले यहाँको प्रहरी प्रशासनलाई चुनौती थपेको छ । स्थानीय र प्रदेश सरकारका सुरक्षा रणनीतिहरूलाई गिज्याइरहेको छ । केही ठूला आपराधिक क्रियाकलापमा जोडिएका व्यक्तिहरूलाई पक्राउ गरे पनि धेरै आपराधिक घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यसले पनि आपराधिक मनसाय भएकाहरूको मनोबल बढ्न सक्छ । अर्कातिर प्रहरीले समुदायसँग हातेमालो गर्न सकेको छैन । प्रहरीले समुदायसँग मिलेर काम गर्नसके अपराध न्यूनीकरणमा धेरै सहज हुन्छ भन्ने विगतका कार्यक्रम र घटनाक्रमले पनि प्रष्ट पार्छन् नै । पछिल्लो समय प्रहरीले किन यस्ता कार्यक्रम ल्याउन नसकेको हो ? आम नागरिकलाई पनि विना वर्दीका प्रहरी भन्ने गरिन्छ । उनीहरूसँग सहयोग नलिएसम्म प्रहरी एक्लैले समाजमा शान्ति सुरक्षा र अमनचयन ल्याउन सक्दैन । कानूनका ठेली र प्रहरीका लाठी, बन्दुकले मात्र अपराध रोक्न सम्भव छैन । अपराध न्यूनीकरण गर्न त समाजमा चेतना जगाउनु सबैभन्दा महŒवपूर्ण कुरा हो । त्यसैले अपराध न्यूनीकरण गर्नका लागि प्रहरी र स्थानीय सरकारले मिलेर नीति बनाउन आवश्यक छ ।