धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले खानेपानी व्यवस्थापन बोर्डले गरेको खानेपानीको परीक्षणको रिपोर्ट सार्वजनिक गरेका छन् । नगर प्रमुख हर्क साम्पाङले आफ्नै कार्यकक्षमा पत्रकार बेलाएर रिपोर्ट सार्वजनिक गरेका हुन् ।

नगर प्रमुख साम्पाङले सङ्घीय खानेपानी आयोजनाको अन्तरगतको इटहरी स्थित खानेपानी गुणस्तर मापन  ल्याबले गरेको परिक्षणमा कोका खोलाको श्रोतको पानीमा बाहेक कहिपनि कोली फर्म नदेखिएको बताएका छन् । 
उनले स्रोत पानीमा पनि कोलीफर्मको मात्रा १ देखाएकोले बजार हल्ला जस्तो अयोग्य नरहेका बताएका छन् । यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन श्रेष्ठले धरानका विभिन्न ७ मुहानबाट ल्याइएका पानीको ट्याङ्कीबाट नमुना सङ्कलन गरेर परीक्षण गराएका थिए । 

उनले गराएको परीक्षणमा कोकाबाट ल्याइएको पानीमा ५, सर्दु खोलामा रहेको रिजर्भेसन ट्याङ्कीमा १० निसाने खोलाको निर्माण गरिदिएको पानी ट्याङ्कीमा २०,  गौधारा ट्याङ्कीमा ३५  र फुस्रे स्थित ट्याङ्कीको पानीमा ३० युनिट कोली फर्म  देखिएको थियो । 
 
श्रेष्ठले परीक्षण गराएका अधिकांश मुहानहरू नगरप्रमुख साम्पाङले श्रम अभियान मार्फत वितरण ट्याङ्कीमा जोडिएका हुन् ।  सतहको पानी सोझै वितरण ट्याङ्कीमा जोडेर फिल्टर र ट्रिटमेन्ट नगरी कोलीफर्म युक्त पानी उपभोक्ताको धारामा पठाएको भन्दै विरोध हुन थालेपछि बोर्डले गराएको थियो । 

धरान खानेपानी व्यवस्थापन बोर्ड निर्देशक राजु पोखरेलका अनुसार ल्याबले विभिन्न १० प्यारामीटरहरूमा गरिएको परीक्षणको रिपोर्टले डराउनु पर्ने स्थिति नरहेको बताएका छन् । उनका अनुसार साउन २५ गते प्राविधिकसहित ल्याबबाट आएका टोलीले  कोका खोलाको स्रोत, धरान ११ विष्णु चोक, धरान १७  वडा कार्यालय, सर्दु,खर्दु निसानेको पानी वितरण हुने धरान ११ स्वस्तिक चोक र नगर प्रमुख साम्पाङको जमघट हुने ठाउँ धरान १८ को 'ग्रिन टी'बाट नमुना सङ्कलन गरेका थिए ।

सङ्कलित नमुना मध्ये कोका खोलाको स्रोतमा मात्र कोलीफर्मको मात्रा देखिएको बताए । बोर्डले खानेपानी ट्याङ्कीमा ‘लिक्विड क्लोरिन’ हालेको दुई दिनपछि बस्तीमा खानेपानी परीक्षण सुरु गरेको थियो ।
२३ गते निशाने स्थित खानेपानी २ लाख लिटरको ट्याङ्कीमा  १ केजी क्लोरिन हालिएको थियो ।

उक्त विषयलाई लिएर बोर्डले गरेको परीक्षणमा धेरैले शङ्का व्यक्त गरेका छन् ।ट्याङ्कीमा क्लाेरिन हाली परीक्षण गरेको विषयमा प्रश्न गर्दा  धरामा शुद्धिकरण गरेरै पठाइने र काेका खोलाको मुहानमा पनि १ युनिट मात्र काेलीफर्म देखिएकोले यसबार उत्तर दिइरहनु नपर्ने बताए ।