विजयपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा धरानमा पनि सुधारोन्मुख देखिएको छ ।

धरानमा सामुदायिक र निजी तथा संस्थागत विद्यालयमा एसईईको नतिजा सुधारोन्मुख आएको प्रधानाध्यापकहरूले बताएका छन् । ब्लाष्टले विद्यालयबाट सङ्कलन गरेको तथ्याङ्कमा पनि गत वर्षभन्दा नतिजा सुधारोन्मुख देखिएको छ ।

सामुदायिक विद्यालयमध्ये पब्लिक हाईस्कुलका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएका छन् । निजी तथा संस्थागत विद्यालयमा विष्णु मेमोरियल स्कुल र नेपाल पुलिस स्कुलका विद्यार्थीले बढी जिपिए ल्याएका छन् । धरान–१२ स्थित पब्लिक हाई स्कुलका विद्यार्थीले गतवर्ष ‘ए’ प्लस ल्याएका थिएनन् । यस वर्ष स्कुलमा ५ जना विद्यार्थीले ३.६० देखि ३.७२ जिपिए ल्याएको प्रधानाध्यापक इन्द्रमोहन झाले बताए । उनका अनुसार सबैभन्दा बढी जिपिए ३.७२ ल्याएका छन् ।

प्रधानाध्यापक झाले भने, ‘गतवर्ष ‘ए’ प्लस ग्रेड थिएन । अहिले ५ जनाले ‘ए’ प्लस ग्रेड ल्याउन सफल भएका छन् ।’ प्राविधिकतर्फ ३ जनाले ‘ए’ प्लस र सामान्यतर्फ २ विद्यार्थीले ‘ए’ प्लस ल्याएका छन् । सामान्यतर्फका विद्यार्थीले भने सबैभन्दा बढी जिपिए ३.६० ल्याएका छन् । 

यस्तै धरान–६ स्थित सरस्वती मावि पानबारीका विद्यार्थीले पनि सबैभन्दा बढी ३.६ जिपिए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक गङ्गा धमलाका अनुसार ३ जिपिएदेखि ३.६० जिपिए ४ जना विद्यार्थीले ल्याएका छन् । विद्यालयबाट कुल ९० जना विद्यार्थी एसईई परीक्षामा सामेल भएका थिए । प्रधानाध्यापक धमलाले भने, ‘हाम्रो विद्यालयका अभिभावकको पारिवारिक आर्थिक अवस्था, परिवेशको आधारमा सन्तोषजनक नतिजा आएको छ ।’ 

यस्तै सहिद स्मृति माविमा पनि विद्यालयका ३ जना विद्यार्थीले ३ भन्दा माथि जिपिए ल्याएका छन् । विद्यालयका शिक्षक तथा सूचना अधिकारी राजन वनका अनुसार सबैभन्दा बढी जिपिए ३.५४ रहेको छ । विद्यालयबाट कुल ३० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

शिक्षा निकेतन माविका विद्यार्थीले प्राविधिकतर्फ ३.४२ जिपिए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक उमेश गुरागाईंका अनुसार कुल ८८ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । सामान्यतर्फका विद्यार्थीले भने सबैभन्दा बढी २.६० जिपिए ल्याएका छन् । प्रधानाध्यापक गुरागाईंले भने, ‘प्रायः विद्यार्थीले कक्षा ११ मा भर्ना पाउँछन् । ग्रेडिङमा ‘ए’ प्लस छैन । परिमाणात्मकरूपमा नतिजा सुधारोन्मुख छ ।’ 

धरान–१७ को पञ्चकन्या माविबाट परीक्षामा सामेल सबै विद्यार्थीले कक्षा ११ मा भर्ना पाउने विद्यालयका प्रधानाध्यापक खेम सुवेदीले बताए । उनका अनुसार एक जना विद्यार्थीले ३.२५ जिपिए ल्याएका छन् । कुल ४७ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

धरान–११ को ज्ञानोदय माविबाट ९७ जना परीक्षामा सामेल भएका थिए । जसमध्ये ७३ जनाले कक्षा ११ मा भर्ना पाउने भएका छन् । विद्यालयका प्रधानाध्यापक देव श्रेष्ठका अनुसार विद्यार्थीले सबैभन्दा बढी २.४ जिपिए ल्याएका छन् ।

निजी तथा संस्थागत विद्यालयमा सबैभन्दा धेरै जिपिए विष्णु मेमोरियल स्कुलले ल्याएको छ । विष्णु स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार सबैभन्दा बढी ३.९५ जिपिए ल्याएका छन् । प्रिन्सिपल श्रेष्ठका अनुसार परीक्षामा सामेल भएका कुल १ सय ६ जना विद्यार्थीमा २४ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन् । ६१ जना विद्यार्थीले ‘ए’ ग्रेड ल्याएका छन् भने २० जनाले ‘बी’ प्लस ग्रेड ल्याएका छन् । 

नेपाल पुलिस स्कुलका विद्यार्थीले पनि सबैभन्दा ३.९५ जिपिए ल्याएका छन् । स्कुलका प्रिन्सिपल डिकेन्द्र रायका अनुसार कुल १ सय ८ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । गतवर्ष भने सबैभन्दा बढी ३.९० जिपिए मात्र ल्याएका थिए । युरेका स्कुलका विद्यार्थीले गतवर्ष सबैभन्दा बढी ३.७० जिपिए ल्याएकोमा यस वर्ष  एक जनाले ३.९० जिपिए ल्याएका छन् । धरान आदर्शका विद्यार्थी सबै पास भएको मोहन पोखरेलले बताए । उनका अनुसार कुल ४१ विद्यार्थीमध्ये एक जनाले ३.९० जिपिए ल्याएका हुन् ।

९ जनाले ‘ए’ ग्रेड ल्याएका छन् । सियोन स्कुलका सबैभन्दा बढी ३.७५ जिपिए ल्याएका छन् । स्कुलका अनुसार ६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन् भने ४४ जनाले ‘ए’ ग्रेड ल्याएका छन् । १५ जना ‘बी’ प्लसमा उत्तीर्ण भएका छन् । लोटस इङ्लिस स्कुलबाट ३ जनाले ‘ए’ प्लस ग्रेड ल्याएका छन् । स्कुलका निर्देशक गणेश राईका अनुसार १० जना विद्यार्थीले ‘ए’ ग्रेड ल्याएका छन् भने १४ जना ‘बी’ प्लसमा उत्तीर्ण भएका छन् । २ जना विद्यार्थीले ‘बी’ ग्रेड ल्याएका छन् ।

समिट स्कुलका तीनजना विद्यार्थीले ‘ए’ प्लस ल्याएका छन् । स्कुलका अनुसार सबैभन्दा बढी ३.७५ जिपिए ल्याएका छन् । युएन नवोदय स्कुलका सबै विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल डम्बरकुमार तुम्बापोले बताए । उनका अनुसार ‘ए’ ग्रेड मा उत्तीर्ण भएका छन् । उनले भने, ‘समग्रमा कमजोर विद्यार्थी भए पनि नतिजामा सन्तुष्ट छौँ ।’