धरान । धरानको क्याम्ब्रिज इन्स्च्यिूट अफ टेक्नोलोजीको आयोजनामा आफ्ना विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै ‘क्यारिअर काउन्सिलिङ’ कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा विजयपुर हस्पिटल प्रालिका प्रशासक इन्दु योन्जन, राष्ट्रिय फुटबल खेलाडी भइसकेका धरानका प्रकाश बुढाथोकी, हालै पाइलट अध्ययन पूरा गरेकी पूर्णिमा विक, प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी मेनेजमेन्जका संगीत सिग्देल र एम्स एकेडेमीका संयोजक दुर्गा सुवेदीले आआफ्ना अनुभव सेयर गरेका थिए । 

विजयपुरका प्रशासक योन्जनले आफूले एसएलसी दिँदाखेरि केही सातापछि मात्रै सूचना पाउने युगबाट अहिले सूचनाप्रविधिको युगमा एकै छिनमा जानकारी पाउने अवस्था आएको बताए । उनले हरेक विद्यार्थीहरूले अहिले के पढ्ने, कस्तो विषय रोज्ने  भन्ने विषयमा थुप्रै संघसंस्थाहरूले जानकारी दिने गरेको बताए । उनले धरानमा व्यवस्थापन संकाय अध्ययन गर्नका लागि एम्स निकै राम्रो शैक्षिक संस्था रहेको बताए । 

यस्तै फुटबलर प्रकाश बुढाथोकीले आफू पढाइभन्दा फुटबलमा दिलोज्यान दिएर लाग्ने हुँदा आमाबुबाबाट धेरैचोटि पिटाइ र खप्की खाएको बताए । तर, त्यसका बावजुद पनि आफूले फुटबल नछाडेको र राष्ट्रिय टिमबाट आफूले नेपाललाई दुई पटक स्वर्ण पदक जिताउन सफल भएको अनुभव सुनाए ।

यस्तै एम्स कलेजबाटै कक्षा १२ सकेकी पाइलट पूर्णिमा विकले पाइलट पढाइ नहुने भएकाले विदेशमा गएर पढ्न सकिने बताइन् । उनले कम्तीमा पाइलट पढ्नका लागि विज्ञान संकायको व्याकराउन्ड चाहिने भएकाले इच्छा हुनेहरूले विज्ञान संकायबाट पाइलट पढ्न सकिने बताइन् ।

उनले पाइलटमा धेरै नै अवसरहरू रहेको बताइन् । क्याम्ब्रिज इन्सिच्यूटका सञ्चालक रोशन पोर्तेलले ब्रिज कोर्ष गरेका आफ्ना माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्याथर््ीहरूलाई बधाई ज्ञापनसहित विभिन्न क्षेत्रमा दक्ष रहेकाहरूको अनुभव सेयर गर्न कार्यक्रम गरिएको बताए । यसैबीच ब्रिज कोर्ष गरिरहेका विद्यार्थीहरूले नृत्यलगायतको प्रस्तुति दिँदा एम्स आइडल बनेका सुपिल उदाशले पनि प्रस्तुति दिएका थिए ।