मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन ।
गत असार २ गतेको बाढीपहिरोले हेंवा खोलामा रहेको मोटरेवल पुल बगाएसँगै अहिले मेची राजमार्ग अवरुद्ध भएको छ । तीन सातासम्म मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लावासीले समस्या खेप्नु परेको छ ।
तीन साता भइसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन । पुल बाढीले बगाएसँगै ताप्लेजुङ, पाँचथरका हिलिहाङसहित फालेलुङ र याङवरक गाउँपालिकासँग सडक सम्पर्कविच्छेद भएको छ ।
बाढीले पुल बगाएपछि लगाउन थालिएको बेलिब्रिज अझै सकिएको छैन । सुरुमा एकहप्तामै सकिने हल्ला गरिए पनि तीन साता बितिसक्दा पनि अझै कहिले सकिएला भन्ने अन्योलता देखिएको छ ।
केही पटक ‘डाइभर्सन’बाट गाडी तारिएको छ, भने फड्के बनाएर आवतजावत हुँदै छ । बेलिब्रिज बन्न ढिलो हुँदा यो क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् ।
राजमार्गमा पुल भत्किएपछि सरकारले चासो नदिएको भने होइन । पुल बगाएकै दिन सरकारले तत्काल बेलिब्रिज हाल्ने निर्णय गरेको थियो ।
त्यही दिन प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रदेश प्रमुख जिल्ला आएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निरीक्षणमा आउनुहुँदा प्रतिकूल मौसमका कारण हेलिकप्टर बस्न सकेन । केही दिन अगाडि मात्र विभागीय प्रमुखसँग भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थलगत अवलोकन गरेका थिए ।
संघीय सरकारले नै निकै चासो राख्दा पनि हालसम्म राजमार्ग सञ्चालन आउन सकेको छैन ।
अहिले ताप्लेजुङमा खाना पकाउने ग्याँस, खाद्यान्न लगायका सामग्री अभाव भइसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले बताए ।
लामो समय राजर्माग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लामा खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ ।
सरकारले सम्पूर्ण शक्ति लगाएर काम सक्नुपर्ने हो तर १८ दिन बित्तिसक्दा पनि बेलिब्रिज सञ्चालनमा नआउँदा दैनिक हजारौंको संख्यामा यात्रीलाई सास्ती खेप्नु परेको छ । छिटोभन्दा छिटो बेलिब्रिज बनाउनका लागि प्रयास भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।
उनले भने, ‘बेलिब्रिज बनाउने काम नागरिक अपेक्षाअनुसार केही ढिला भएकै हो । आवश्यक सामग्री समयमै पुर्याएका थियौँ । फाउण्डेसन बनाउन नै बाढीले समस्या गरायो । जतिसक्दो छिटो काम सम्पन्न गर्न सबै हिसाबले लागेका छौँ ।’
सडक विभागका अनुसार बढीमा एक हप्तामा काम सकिने निर्माणमा भइरहेको छ ।
फड्के बनेपछि यात्रुलाई सहज
मेची राजमार्गअन्तर्गत फिदिम ताप्लेजुङ खण्डको हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुहरुलाई केही सहज भएको छ ।
तत्कालका लागि यात्रु आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारबाट सञ्चालनमा आएको हो ।
गत आसर २ गते बाढीपहिरोले मोटरेबल पुल बगाएपछि ताप्लेजुङ जिल्ला सडक सञ्जालले टुटेको छ । ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएसँगै हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ ।
पाँचथरका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी, युवाको सक्रियतामा फड्के पुल बनेको हो ।
मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा फड्के बनाइएको हो ।
बाँसका साथै बिजुलीको तार, नट प्रयोग गरेर बनाइएको फड्के निर्माणमा युवा संघ पाँचथरको पनि सहयोग रहेको जनाइएको छ । फड्के पुलको सहयोगले गाडीमार्फत् वारिपारिसम्म आइपुग्ने यात्रुलाई आ–आफ्नो गन्तव्य पुग्न तरेर जान केही सहज भएको छ ।
मेचीमार्गको फिदिम–ताप्लेजुङ खण्डमा दुई सय बढी निजी तथा भाडाका गाडीबाट दुई हजारसम्म यात्रुले यात्रा गर्ने गर्छन् ।
हेंवाखोला पुल बगाएपछि यात्रुलाई असुविधा पुगेको थियो । फड्के पुल बनेपछि यात्रुलाई धेरै राहत पुगेको छ । फड्के तर्ने यात्रुलाई वारीकाले वारीबाटै र पारिकाले पारिबाट उठाएर गन्तव्यतर्फ लगिदिन थालेका छन् ।
यहाँ सडक डिभिजन इलामबाट बनिरहेको बेलिब्रिज निर्माण सम्पन्न नहुदाँसम्म यात्रुलाई यात्रा गर्नमा फड्केले सहजीकरण गरिदिने विश्वास गरिएको छ ।
बेलिब्रिज बन्न एक महिना लाग्ने बताइएको छ । हेंवाखोलामा तत्कालमा डाइभर्सनको व्यवस्था गरेर गाडी ओहोरदोहोर गराउने प्रयास पनि भइरहेको छ ।