देउराली ।  धरान १३ स्थित कृषि उपज बजारमा रहेको पशु बजारमा बिक्रीका लागि ल्याइने खसीबोकालाई निरोगिताको प्रमाण–पत्र दिइने गरेको छ । 

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बिक्रीका लागि बजारमा ल्याइने खसीबोकाको स्वास्थ्य परीक्षण गरी कृषकलाई निरोगिताको प्रमाणपत्र दिइने गरिएको हो । 

व्यवस्थापक भट्टराईका अनुसार सरकारले पशुलाई एक जिल्लाबाट अर्को जिल्लामा लाँदा अनिवार्य स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाण–पत्र लिएको हुनुपर्ने कानुन बनाएसँगै धरान उपमहानगरपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाण दिने गरिएको छ । 

यहाँ बिक्री हुने खसीबोका कोशी प्रदेश र मधेस प्रदेका मुख्य सहरहरूका साथै काठमाडौं र भारतसम्म जाने गर्दछ । व्यवस्थापक भट्टराईले भने, ‘निरोगिताको प्रमाण नहुँदा ढुवानीमा कठिनाइ भएपछि करिब दुई वर्षदेखि पशु डाक्टरबाट स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाण लिएर मात्र अन्य जिल्लाहरूमा खसीबोका निर्यात गर्ने गरिएको छ । 

 पशु चिकित्सक बिर्खबहादुर कुलुङले स्वास्थ्य परीक्षण गरेपछि उपमहानगरपालिकाको पशु शाखाले  निरोगिताको प्रमाण–पत्र  प्रदान दिने गरेकाे छ ।  

अन्य जिल्लामा जाने खसीबोकाको अनिवार्य स्वास्थ्य परीक्षण हुने गरेकोमा धरान र आसपासका क्षेत्रबाट हुने खरिद बिक्रीमा भने आवश्यकता अनुसार स्वास्थ्य परीक्षण हुने कृषि बजार व्यवस्थापक भट्टराईले बताए । 

उनले भने ‘सरकारले भेटेरिनरी प्रमाण लिएर मात्र एक जिल्लाबाट अर्को जिल्लामा पशुहरूको ढुवानी गर्न दिने नीति बनाएपछि व्यापारीहरूलाई प्रहरीले रोक्न थाल्यो, त्यसपछि यहाँबाट स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।’

पशुको स्वास्थ्य परीक्षण हुन थालेपछि ढुवानीको समस्या समाधान हुनुका साथै उपभोक्ता र कृषक दुबैलाई फाइदा पुगेको व्यवस्थापक भट्टराई बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्य परीक्षण भएपछि बजारमा आउने मासुको गुणस्तरमा सुनिश्चितता भएको छ । कृषकले पनि खसीबोकाको स्वास्थ्यका आधारमा मोलमोलाई गर्न पाएका छन् ।’

खसी बजारमा विशेष गरी पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सङ्खुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी, मोरङको उत्तरी भेगबाट बढी खसीबोका आउने गरेका छन् । 

खसीबोकाको  खरिद बिक्रीका लागि कोशी प्रदेशकै मुख्य बजारको रुपमा स्थापित हुँदै गरेको बजारमा वार्षिक औसत ८० करोड भन्दा बढीको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईको भनाइ छ । 

सामान्यतया मासिक चार हजार खसीबोका बिक्री हुने गरेको भए पनि चाडवाडको समयमा छ हजारसम्म पुग्ने गरेको उनले बताए । शुक्रबार लाग्ने बजारमा बिक्रीका लागि पूर्वी पहाडी जिल्लाहरूबाट आउने खसीबोका बिहीबार साँझसम्म आइपुग्छन् । कृषक तथा व्यापारीहरूलाई कृषि बजार व्यवस्थापन समितिले सशुल्क आराम र आवासको व्यवस्थापन गरेको छ । व्यापारीलाई आवश्यक पर्ने पानी, बत्ती, काँटा, रिफ्रेस सेन्टरको समेत व्यवस्था गरिएको छ । 

बिक्रीका लागि ल्याइएका पशु राख्नका लागि कान्जीहाउसको पनि व्यवस्था गरिएको व्यवस्थापक भट्टराई बताउँछन् । खसीबोका ढुवानीमैत्री सवारी साधन नहुँदा भने कृषक सबै भन्दा बढी मारमा परेको व्यवस्थापक भट्टराईको भनाइ छ ।