धरान १३ स्थित सत्य साइ स्कुल भवन परिसरमा लायन्स क्लबले निर्माण सम्पन्न गरेको भवन आगामी शनिबार समुद्घाटनसँगै हस्तान्तरण गरिने भएको छ ।
धरानमा बुधबार पत्रकार सम्मेलन गर्दै लायन्स सत्य साइ स्कुल भवन निर्माण समितिले भवन निर्माण सम्पन्न भएको जानकारी गराएको छ । समितिका संयोजक लायन विपिन सुब्बा इङ्वारमले भवन १ करोड ७० लाखको लागतमा निर्माण सम्पन्न भएको जानकारी दिए । स्कुल परिसरमा निर्माण भएको भवन १२ वटा कोठासहित २ तले रहेको छ ।
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सन्चालित विद्यालयले देशका विभिन्न स्थानका बालबालिकालाई निशुल्क शिक्षासाथै स्वास्थ्योपचारको सुविधा उपलब्ध गराउँदै शिक्षा प्रदान गरिरहेको छ ।
लयन्स क्लब इन्टरनेश्नलका इन्टरनेश्नल डाइरेक्टर सन्जय खेतानको प्रमुख आतिथ्यतामा असार ९ गते (आगामी शनिबार) बिहान ९ बजे भवन समुद्घाटनसँगै हस्तान्तरण गरिने ग्रान्ट एडमिनिस्ट्रेटर तथा डिस्ट्रीक्ट गभर्नर लायन धिरज गुरुङले जानकारी दिए ।