लामो समय देखी धारामा खानेपानी नआएपछि गुनासो लिएर धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङलाई भेट्न पुगेका धरान ८  हाम्रो टोल र सुनौलो घुम्ती टोलका महिलाहरूलाई उल्टै कारबाही गर्ने भन्दै फर्काइएको गुनासो गरेका छन् । 

करिब एक वर्ष देखी धरानमा पानी नआएको र पानी नआए पनि बिल आवश्यकता भन्दा बढी उठेको भन्दै गुनासो लिएर नगरप्रमुख साम्पाङलाई भेट्न पुगेका उनीहरूलाई नगर प्रमुख साम्पाङले कारबाही गर्ने चेतावनी दिएर फर्काएको स्थानीय नम्रता गुरुङले बताइन् । 


उनले पलम्बरले पानी नखोल्दिँदा लामो समय देखी धारामा पानी नआएपछि सुकुम्बासी क्षेत्रकाले, मन्दिर र चारकोशे जंगलक्षेत्रबाट सफारीमा पानी किनेर खाने गरेको र केहीले ट्याङ्करबाट पानी  किनिरहनुपरेको अवस्थाका बारेमा जानकारी गराउन जाँदा नगर प्रमुख साम्पाङले आफूहरूको कुरा नसुन्ने भन्दै उल्टै कारबाहीको चेतावनी दिँदै कार्यालयबाट फर्काएको बताइन् । 

उनले भनिन् ' यही नजिकै चौबिसै घण्टा पानी आउँछ । तर हाम्रो तीर  पानी नआएको  वर्ष दिन भन्दा बढी भइसक्यो । पलम्बरले हाम्रो तर्फको पानी खोल्दिँदैनन् हामी त्यी गुनासो लिएर जाँदा  हामीलाई नै कारबाही गर्ने चेतावनी दिनुहुन्छ । अब हामी के गर्ने  ? "

उनले धारामा पानी नआएपछि प्लम्बरको कठालो समातेर खोल्न लगाउँदा  पानी आएको भन्दै प्राविधिक समस्या नभएर प्लम्बरको नियतमा समस्या देखिएको जानकारी गराउँदा कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको बताइन् । उनले धारमा पानी आउने भए आफू कारबाही भोग्न पनि तयार रहेको बताइन् । 

गुरुङले नगरप्रमुखसँग भएको कुराकानीको क्रममा नगरप्रमुख साम्पाङ समर्थित युट्युबवरले  भिडियो खिची नगरप्रमुख र आफ्ना कुराहरूलाई काटछाट गरी सम्प्रेषण गरेको भन्दै गुनासो लिएर जाँदा चरित्र हत्या गरेको बताइन् ।

उनले भनिन् "  हामीले बेलेका कुराहरू काटेर आक्रोशित भएको मात्र देखाइएको छ । नगर प्रमुखले हामीमाथि गर्नु भएको व्यवहार देखाइएको छैन । हामी समस्या लिएर जाँदा नगरप्रमुख समर्थित युट्युबले भिडियो काटेर हाल्ने र  अरू समर्थकले सामाजिक सञ्जालमा गाली बैज्यती गरेर गरेर चरित्र हत्या गरे  ।"

  वर्षै देखी पानी नआएपछि गुनासो पोख्न उपमहानगर जाँदा  आफ्नो कुराहरूको सुनवाइ हुनुको साटो बोल्न पनि नदिइएको स्थानीय मैयादेवी विकले बताइन् । उनले भनिन् " एडिभिको पानी अहिलेसम्म आको छैन एक वर्ष देखी धारमा पानी छैन पानी आएन भनेर गुनासो पोख्न जाँदा  हामीलाई बोल्नै दिइएन, बाहिर जानुस् भन्दै लखेटियो ।   "