पत्रकारिताका आधारभूत अन्य दुईचारवटा तालिम लिइसकेकी सन्जु खड्का वराहक्षेत्रको चक्रघट्टीमा आयोजना भइरहेको मल्टिमिडिया तालिममा सहभागी थिइन् ।
यो तालिम उनका लागि विशेष किसिमको रह्यो । अन्य तालिममा समाचारका विषयमा जान्ने अवसर पाए पनि मल्टिमिडिया तालिमको सिकाइमा फरकपन पाएको सन्जु बताउँछिन् । 'भिडियो सम्पादन र आचार संहिताबारे तालिम लिएको थिइनँ, यो तालिमले प्रविधिको प्रयोगबारे जानकारी लिने अवसर पाएँ ।' सन्जुले भनिन् ।
पत्रकारिताको क्षेत्रमा एक दशक बिताएका वराहक्षेत्रका पत्रकार अच्युत भट्टराई समेत मल्टिमिडिया तालिममा सहभागी भए । छापा पत्रकारितामा स्वरोजगार उनी मोबाइल पत्रकारिताबारे जान्न उत्सुक देखिन्थे । मोबाइल एप 'भीएन' डाउनलोड गरी भिडियो र अडियो रेकर्डमा घोत्लिरहेका उनी वराहक्षेत्रको पर्यटनबारे भिडियो सामग्री तयार गर्दै थिए । 'समयको मागअनुसार १ नम्बर लाग्यो तालिम ।' भट्टराईले हाँस्दै प्रतिक्रिया दिए ।
रेडियोकर्मी तथा कवि छविना लुङ्गेली मगर पनि मल्टिमिडिया तालिममा सहभागी थिइन् । एफएम रेडियोमा दशकदेखि मधुर स्वर स्रोताहरुलाई पस्किरहेकी उनी भिडियो सम्पादन सिकिरहेकी थिइन् । प्रतिकृया दिंदै उनले भनिन्, 'प्रशिक्षणमा सहभागी भएर धेरै खुसी लागेको छ, यो आवश्यकता पनि थियो, प्रविधिसँगै अघि बढ्नु पनि पर्यो नि त !'
सोमबारदेखि ग्रामीण पत्रकार समूहको आयोजनामा वराहक्षेत्रस्थित चक्रघट्टीमा जारी दुई दिवसीय मोबाइल पत्रकारिता तालिममा स्थानीय २० युवा सहभागी छन् ।
तालिममा न्युमिडिया, मोबाइल पत्रकारिता, भिडियो सम्पादन र पत्रकार आचार संहिताबारे सहभागीलाई प्रशिक्षण दिइएको छ । नगरपालिकाको सहयोगमा विभिन्न तालिम आयोजना भइरहे पनि मोबाइल पत्रकारिताको प्रभावकारी तालिम आयोजना भएको सदाबहार मिडिया प्रालिका सन्चालक विजयकुमार राउतले बताए ।
वराहक्षेत्र नगरपालिकाको पत्रकारिता विकास कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट युवाहरुलाई मल्टिमिडिया तालिम दिइएको ग्रामीण पत्रकार समूहका सचिव सुविन विश्वकर्माले जानकारी दिए ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राईको सहजीकरणमा सुरु भएको प्रशिक्षणको दोस्रो दिन पत्रकार आचार संहिता र समाचार कोणबारे मंगलबार ब्लाष्टखबरडटकमका कार्यकारी सम्पादक नवराज विष्टले सहजीकरण गरेका थिए ।
मल्टिमिडियाको यो तालिमले स्थानीय युवालाई सन्चार साक्षर बनाउन र प्राविधिक ज्ञानसहित स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने समूहका अध्यक्ष हिरण्य कार्कीले विश्वास व्यक्त गरे । सात वर्ष अघि वराहक्षेत्रमा स्थापना भएको ग्रामीण पत्रकार समूहले स्थानीय संचारकर्मीको वृत्तिविकास र क्षमता अभिवृद्धिका लागि कार्य गर्दै आएको छ ।